भक्तपुर । साँष्कृतिक पर्यटकीय नगरी भक्तपुरको पर्यटन प्रवर्द्धनका निम्ति होटल व्यवसायीहरुले सामूहिक पहल थालेका छन् । आन्तरिक तथा वाह्य पर्यटकलाई भक्तपुरमा आकर्षित गर्ने तथा उनीहरुको भक्तपुरमा बसाइ अवधि बढाउने उद्देश्यले ‘ब्रेथटेकिङ भक्तपुर’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाह र होटल संघ भक्तपुर अध्यक्ष सत्यराम सुवालले शुक्रबार संयुक्त रुपमा ब्रेथटेकिङ भक्तपुर पुस्तक सार्वजनिक गरेका हुन् । यो पुस्तकको डिजिटल प्रतिसमेत सो अवसरमा विमोचन गरियो ।
सांस्कृतिक सहरको रुपमा पहिचान बनाएको भक्तपुर भ्रमणमा आउने पर्यटकलाई यात्रामा सहज बनाउने लक्ष्यका साथ नेपाल होटल संघ नेपाल र क्षेत्रीय होटल संघ भक्तपुरको सहकार्यमा ब्रेथटेकिङ भक्तपुर पुस्तक सार्वजनिक गरिएको जनाइएको छ ।
हाल भक्तपुरमा एक सयभन्दा बढी होटल रिसोर्ट सञ्चालनमा छन् भने यी सबै सुविधाजनक छन् । तिनमा १ हजार डिलक्स, १ सय सुइट, ५० डिलक्स कोठा उपलब्ध रहेको जनाइएको छ ।
भक्तपुरका पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिइएको उक्त पुस्तक अनलाइन र क्यूआर कोडमार्फत स्क्यान गरी अध्ययन गर्न मिल्ने हानका अध्यक्ष शाहले जानकारी दिए ।
“भक्तपुरलाई साइट भिजिटको लागि मात्र नभै गन्तव्यकै रुपमा विकास गर्दै पर्यटकको बसाइ अवधि बढाउने र सुरक्षित गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरेका हौं, यसले भ्रमण सहजीकरण गर्न सघाउने छ,” अध्यक्ष शाहले भने ।
पुस्तकमा भत्तपुरमा भ्रमणमा आउँदा कहाँ जाने, कस्तो खाना तथा आवासको सुविधा लिने भन्ने बारेमा पर्यटकलाई सहज बनाउनेमा उनले जोड दिए ।
पछिल्लो समय भक्तपुरमा पर्यटकीय पूर्वाधार विस्तारसँगै पछिल्लो समय भक्तपुर घुम्ने र त्यही बस्ने गरेको शाहले बताए । पर्यटक स्तरीय ७० वटा जति होटलका भक्तपुरमा एक हजार बेड क्षमता रहेको छ । पर्यटकको बसाइँ बढाइ प्रचार–प्रसार गर्नको लागि पुस्तक सावर्जनिक गरिएको भक्तपुर होटल संघका अध्यक्ष सुवालले बताए ।
उनले भने, “सावर्जनिक भएको पुस्तकले भक्तपुरको परिचय र यात्रा विवरण दिने छ । पुस्तकले यहाँको रहन शहन तथा परम्परालाई पर्यटकीय उत्पादनको रुपमा विकास गरी पर्यटकको भ्रमण संख्या र बसाइँ लम्ब्याउने लक्ष्य लिएको छ ।”
पर्यटकीय सम्भावना र पछिल्लो समय पर्यटकीय गन्तव्यको विस्तार भएसँगै होटल तथा रिसोर्टको निर्माण भैरहेकोले भक्तपुरको ब्रान्डिङ गर्न हानले विभिन्न सरोकारवाला निकायसँग सहकार्यमा जारिराखेको पनि जनाएको छ । पर्यटकको ३ देखि ४ दिनसम्मको बसाइँ अवधि लम्व्याउने गरी हानले भक्तपुरको डोलेश्वर महादेवको मन्दिर, दरबार स्क्वायर, चाँगु नारायण, नगरकोट, रानीकोट, पाइलट बाबा, सूर्यविनायक मन्दिर तथा अन्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा जोड दिएको छ ।
उपत्यकाबाट नजिक, विभिन्न मठ मन्दिर र पर्यटकीय गन्तव्य भएकाले भक्तपुरमा बसाइ अवधि लम्ब्याउनेतर्फ काम भइरहेको अध्यक्ष सुवालले बताए । जसका कारण घुम्न आएर भक्तपुरमै बस्ने पर्यटकको संख्या वृद्धि हुन थालेको छ । “पर्यटकले भक्तपुरमै २र३ दिन बसेर नजिकका गन्तव्यहरुको भ्रमण गरी विभिन्न गतिविधिमा सहभागी हुन सक्ने छन् । त्यसैले भक्तपुर दरबार क्षेत्रमा रात्रिकालिन भ्रमण गर्ने गरी प्रबन्ध गरिएको छ ” उनले भने ।
कार्यक्रममा संघका महासचिव साजन शाक्यले भक्तपुर पर्यटन प्रवद्र्धनका लागि विभिन्न होटलसँगको सहकार्यमा आकर्षक प्याकेज तयारी सुरु गरिएको जानकारी दिए ।
इतिहास बोकेको पुरानो सहर भक्तपुरको महत्वसँगै पर्यटन प्रवद्र्धन गर्न ‘ब्रेथटेकिङ भक्तपुर’ तयार गरिएको उनको भनाइ छ ।
भक्तपुरको पर्यटन प्रवर्द्धनका लागि संघले बंगलादेश सेल्स मिसनमा पनि गरेको संघका कोषाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए । विभिन्न पर्यटन क्षेत्रसम्बद्ध संगठनको सहकार्यमा यो पुस्तक सार्वजनिक गरिएकाले भक्तपुरको पर्यटकीय विकासमा सिंगो पर्यटन क्षेत्र एकजुट भएको उनको भनाइ छ ।
“हाम्रो पुस्तकको लक्ष्य नै अब भक्तपुरलाई साइट सिइङ डेस्टिनेसन मात्र नभइ लामो अवधिसम्म बस्ने विशेष पर्यटकीय गन्तव्य बनाउने उद्देश्य लिएका छौं,” उनले भने, “अब भक्तपुर आन्तरिकदेखि हाइ इण्ड पर्यटकलाई सेवा दिन तत्पर छ ।”
प्रतिक्रिया