Logo

मुख्य समाचार

मल्होत्राले भनेः सय किलो सुनमा संलग्नता छैन, मिडियाले माफी नमागे कानुनी प्रक्रियामा जान्छु !


GDP Nepal
   ४ श्रावण २०८०, बिहिबार


काठमाडौं । त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट वरामद भएकोसम्बन्धी समाचारमा मुछिएपछि व्यवसायी दिपक मल्होत्राले त्यसको प्रतिवाद गरेका छन् ।

बिहीबार रोयल सिंगी होटलमा पत्रकार सम्मेलन गर्दै व्यवसायी मल्होत्राले यससम्बन्धी समाचारमा आफ्नो तस्वीरसहित संलग्नता रहेको भन्ने समाचार कपोलकल्पित, भ्रामक र तथ्यविनाको प्रसंग उल्लेख गरिएको दावी गरेका छन् ।

आफू र आफ्नो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोवारहरु नेपाल कानून वमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको उल्लेख गर्दै आफूले गर्ने सवै कारोबारहरु संगठित संस्था मार्फत हुने भएकोले प्रचलित कानून वमोजिमे व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरण मार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने उनको भनाइ छ ।

“म र मेरो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवं परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोबार गर्ने गरेको छैन,” उनले भने, “म र मेरो परिवारको कारोवार, आय सवै कानून बमोजिम अभिलेखवद्ध, पारदर्शी भई कानून बमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन् ।”

समाचारमा भनिएजस्तो त्यो सुन आयात गर्न आफूसम्बद्ध व्यापारिक प्रतिष्ठान एवं आफ्नो व्यक्तिगत सम्पत्तिबाट, कुनै पनि माध्यमबाट भुक्तानी पठाउने कार्य भए गरेको छैन भन्दै उनले भने, “उक्त वस्तु आयातमा म, मेरो परिवार, म सम्बद्ध व्यापारिक प्रतिष्ठान वा सोसँगसम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाउँमा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं मसम्बद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको स्पष्ट पार्न चाहन्छु ।”

“पत्रिकामा नाम उल्लेख गरिएका अन्य कुनै पनि व्यक्तिसँग मेरो कारोवार र सम्बन्ध हुनु त परेको कुरा, चिनजानसमेत छैन,” उनले भने, “विदेशबाट पठाएको भनिएको वस्तु आयात गर्ने, उक्त वस्तु भन्सार जाँचपास गराउने र वस्तु जिम्मा लिने कुनै पनि चरणमा मेरो संलग्नता छैन ।”

“प्रकाशित समाचारमा स्रोतको हवाला दिँदै आफैँ कल्पना गरेर पत्रकारले मेरो नाम मुछेका छन्, मेरो तस्वीरसमेत राखेर मेरो सार्वजनिक जीवनमाथि प्रहार गर्न खोजेका छन्,” उनले भनेका छन्, “यसबाट समाचार लेख्ने पत्रकार, उक्त प्रकाशन संस्थाको नियत राम्रो नभएको स्पष्ट देखिन्छ । एउटा पत्रकारको अनुमान र आशंकाका आधारमा के कसैको सार्वजनिक जीवनमा प्रहार गर्न, समाजमा स्थापित पहिचानलाई खल्बल्याउन पाइन्छ ?”

मिडियाले समाचार लेख्दा, तयार पार्दा आफूसँग निज पत्रकार वा सो प्रकाशनबाट कसैले यस विषयमा जानकारीसमेत लिन नचाहेको उनको भनाइ छ ।

“समाचारमा मलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको उल्लेख गरिए पनि यो सरासर झुट हो । म नेपालमा वसोबास भएको व्यक्ति हुँ । काम विशेषले कहिलेकाहीं विदेश जानुपर्ने अवस्थामा वाहेक म सदैव नेपालमा रहने हुँदा मसंग सम्पर्क नहुने अवस्था हुँदैन,” उनले भनेका छन्, “सम्पर्क हुन नसकेको व्यहोरा पारी निवेदकको वैयक्तिक, पारिवारिक, सामाजिक एवं व्यापारिक ख्यातिलाई धुलोमा मिलाउने धुलीसात पार्ने गरी गैरकानूनी कार्यमा संलग्नता भएको राष्ट्रिय समाचार माध्यममा प्रकाशित गरिनु कदापी क्षम्य र सहनयोग्य कार्य मानिँदैन ।”

आफ्नो संलग्न नभएको कार्यमा मेरो नाम उल्लेख गरेर समाचार लेख्ने पत्रकार वा प्रकाशन गर्ने मिडियाले यसबारे माफी नमागे र खण्डन प्रकाशन नगरे कानुनी उपचारमा जान बाध्य हुने उनको भनाइ छ ।

प्रकाशित : ४ श्रावण २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह