काठमाडौं । युवा उद्यमी प्रज्वलजंग पाण्डेले नेपालका लागि अफ्रिकी मुलुक रुवाण्डाको अवैतनिक महावाणिज्यदूतको जिम्मेवारी पाएका छन् ।
रुवाण्डा सरकारको सहमतिमा नेपाल सरकारले पाण्डेलाई रुवाण्डाको महावाणिज्यदूतमा नियुक्त गरेको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले सोमबार पाण्डेलाई महावाणिज्य दूत नियुक्तिको पत्र प्रदान गरेका छन् ।
लोमस ग्रुपका निर्देशक युवा उद्यमी पाण्डे गत सातामात्र नेपाल औषधि उद्योग संघको अध्यक्षको कार्यकाल पूरा गरेका थिए भने उनी नेपाल फिनल्यान्ड चेम्बर अफ कमर्सको उपाध्यक्ष पनि हुन् र
पाण्डे हाल नेपाल फार्मेसी काउन्सिल अध्यक्षको जिम्मेवारीमा पनि छन् ।
वाणिज्यदूतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा काम गर्ने भएको छ । जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाईने नवनियुक्त वाणिज्यदूत पाण्डेले जानकारी दिए ।
आगामी दिनमा रूवाण्डा र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताए । ‘रूवाण्डाले भर्खरै मात्र नेपालमा आफ्नो वाणिज्यदूत नियुक्त गरेको छ,’ नवनियुक्त वाणिज्यदूत पाण्डेले भने, ‘यसले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’
कार्यक्रममा परराष्ट्र मन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डा बीच दुई देशीय व्यापार अभिबृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएकोे बताए ।
रुवाण्डा पनि नेपालजस्तै भूपरिवेष्ठित मुलुक हो । यसको राजधानी किगाली देशको बीचमा बग्ने रुगानवा नदीमा अवस्थित छ।
प्रतिक्रिया