काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यस साता निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको साधारणसभामा सहभागी भए ।
परिसंघको १६ औं साधारणसभा र महासंघको ५३ औं साधारणसभाको उद्घाटन गरेका प्रधानमन्त्री दुवै समारोहमा फरक रुपमा प्रस्तुत भए । सोमबार परिसंघ साधारणसभामा निजी क्षेत्रप्रति कटाक्ष र आलोचना गरेका प्रधानमन्त्री ओलीले बिहीबार महासंघ साधारणसभामा भने निजी क्षेत्रलाई उत्प्रेरित गर्ने मन्तव्य राखे ।
नेपाल उद्योग वाणिज्य महासंघ साधारणसभाको उदघाटन गर्दै प्रधानमन्त्री
परिसंघको साधारणसभामा कहिले व्यवसायीले भ्याट छल्ने गरेको त कहिले चिनी आयातमा रोक लगाउने निर्णयपछि कालोबजारी गरेको भन्दै आक्रोशित प्रधानमन्त्रीले महासंघमा भने व्यवसायीलाई विद्युतीय गाडी उत्पादनका क्षेत्रमा लगानीका लागि आग्रह गरे ।
परिसंघ साधारणसभामा आफूभन्दा अगाडि बोलेका कांग्रेस सांसद विनोद चौधरीको अभिव्यक्तिको खण्डनमै समय खर्चेका प्रधानमन्त्रीले विहीबार भने निजी क्षेत्रलाई उत्प्रेरित गरे ।
महासंघमा भने उनले व्यवसायीलाई मिलेर जान सुझाव पनि दिए । उद्योगी व्यवसायीलाई एक अर्काको खुट्टा तान्ने काम नगर्न समेत आग्रह गरे । समृद्धि पहिलो शर्त भएकाले त्यसका लागि सरकार, निजी क्षेत्र सबैको साथ र सहयोग जरुरी रहेकोमा प्रधानमन्त्रीको जोड थियो ।
आफ्ना अभिव्यक्तिलाई जवर्जस्त पुष्टि गर्ने उनको प्रवृत्ति भने बिहीबार पनि दाहोरियो । उनले गाडी उत्पादनसम्बन्धी सम्बोधनमा भने– केही मान्छेलाई नेपालमा विद्युतीय सवारी साधनको कारखाना खोल्ने कुरा नपच्न सक्छ । उद्योगी व्यवसायी मित्रहरु नेपालमै विद्युतीय सवारी साधनको कारखाना खोल्नुस् । नयाँ तरिकाले काम गर्नुस्, उद्योग विस्तार गर्नुस् । सरकार सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार छ ।
प्रतिक्रिया