काठमाडौं । बंगलादेशले नेपाली धागो लैजानेमा नेपाली व्यवसायी नै विश्वस्त छैनन् । तर, नेपालका लागि बंगलादेशका राजदूत ममास्फे बिन्ते साम्सले यो सम्भावना रहेको बताएकी छन् ।
राजदूत साम्सले नेपाल–बंगलादेशबीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार हुँदै गएको बताएकी छन् । उनले दुवै सरकारका तर्फबाट समयसमयमा विभिन्न तहमा औपचारिक भेटघाट भएको र नेपालको निकासी बंगलादेशमा सहुलियतपूर्ण प्रवेशका लागि सहयोग गर्न सकारात्मक रहेको बताइन् ।
बंगलादेशका राजदूतलाई स्वागत गर्न नेपाल उद्योग परिसंघले हालै गरेको कार्यक्रममा राजदूत साम्सले दुवै देशबीच सुविधायुक्त व्यापार सम्झौता गर्ने सन्दर्भमा समेत दुवै मुलुक सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेस भइसकेकाले निकट भविष्यमा यो सम्झौतामा निर्णय हुने विश्वास व्यक्त गरिन् । उनले विशेषगरी नेपालबाट बंगलादेशमा धागो आयात गर्नसमेत आफू इच्छुक रहेको र यसको प्रक्रिया मिलाउन दूतावासका तर्फबाट पहल गर्ने धारणा राखिन् ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल–बंगलादेश दुवै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताए । छिमेकी मुलुक भए पनि दुई मुलुकबीच अपेक्षित व्यापार विस्तार हुन नसकेको भन्दै उनले नेपाल र बंगलादेशमा हुने मेला तथा प्रदर्शनीले दुवै मुलुकबीचको व्यापार प्रवद्र्धनमा योगदान पु¥याएको र यसमा अझ बढी जोड दिनुपर्ने बताए ।
अध्यक्ष मोरले बंगलादेशले लघु वित्तमा पाएको सफलताबाट नेपालले धेरै कुरा सिक्नुपर्ने भन्दै वीवीआईएन्, डब्ल्यूटीओ, सार्क, बिमस्टेक जस्ता संगठनमा नेपाल र बंगलादेशको साझा मुद्दा भएको र फूलबारी–बंगलाबन्द मार्गको बढी प्रयोग भएमा नेपाली मालवस्तुको सहज र सरल पहुँच हुने बताए ।
प्रतिक्रिया