विश्वकै ठूलो मोटरसाइकल र स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आफ्नो नयाँ आधिकारिक बिक्रेतामा चौधरी ग्रुपको सीजी मोटर्सलाई नियुक्त गरेको छ ।
यसअघि नेपालमा हिरोको आधिकारिक बिक्रेता ज्योति समूहको नेसनल जनरल मार्केटिङ (एनजीएम) थियो ।
चौधरी ग्रुपले जारी गरेको विज्ञप्ति अनुसार मार्च २०२४ भित्रै नेपालमा हिरो बाइक तथा स्कूटर एसेम्बल थालिने छ । एसेम्बल प्लान्ट नवलपुर जिल्ला राखिनेछ । यसको क्षमता प्रतिवर्ष ७५ हजार युनिट रहेको छ । जुन आगामी मार्चदेखि सञ्चालनमा आउने छ ।
हिरो मोटोकर्पका ग्लोबल बिज्नेस प्रमुख सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँगको साझेदारीलाई लिएर आफूहरू उत्साहित बनेको बताए । उनले नेपाल आफूहरूका लागि अत्यन्तै महत्त्वपूर्ण बजार रहेको पनि बताए । उनले नयाँ साझेदारको साथमा नेपाली बजारमा हिरोको उपस्थिति बलियो हुनेमा आफूहरूको विश्वस्त रहेको बताए ।
साथै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी रूपमा मोटरसाइकल र स्कुटरको अग्रणी निर्माताको रूपमा चिनिने हिरो मोटोकर्पसँगको सहकार्यको घोषणा गर्न पाउँदा हर्षित भएको बताए ।
प्रतिक्रिया