बर्दघाटमा नमूना औद्योगिक ग्राम स्थापना हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम स्थापना हुने भएको हो । बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्का लगायतका गृहकार्यपछि उक्त औद्योगिक ग्रामको शिलान्यास गरिएको हो ।
नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने बताएका चौधरीले नवलपरासीका लागि यो महत्वपूर्ण परियोजना भएको बताएका छन् ।
यो औद्योगिक ग्राममा एकीकृत सुविधा उपलब्ध हुनेछ । यसमा स्थानीय युवाका सिर्जनशील उद्यमशिलता र स्थानीय कच्चा पदार्थमा आधारित सिपलाई उपयोग गर्ने लक्ष्य राखिएको बताउँदै चौधरी समूहले यसलाई साना तथा मझौला उद्योग ९एसएमई० भिलेजका रुपमा पनि चिनिने बताएको छ ।
बर्दघाट नगरपालिका वडा नं ५, खजुरा खोला क्षेत्रमा करिव १८ विगाहा क्षेत्रफलमा यो ग्रामको निर्माण हुँदैछ । यस परियोजनाका लागि १७ करोड रूपियाँ खर्च हुने अनुमान गरिएको छ । यो परियोजना बहुबर्षीय परियोजनाका रुपमा आगामी तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यस ग्रामका लागि चालु आर्थिक बर्षमा चार करोड रूपियाँ निकासा भई टेण्डर भइसकेको छ । रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीले यसको निर्माणको जिम्मा पाएको छ । यस बर्ष पूर्वाधारका कामहरू सम्पन्न गरिने र कार्यप्रगति राम्रो रहेमा यसै आर्थिक बर्षभित्र थप बजेट निकासा भई थप काम गर्नसक्ने जनाइएको छ ।
औद्योगिक ग्रामको निर्माणलाई प्रभावकारी रुपमा अगाडि बढाउन परियोजनालाई कुनै आर्थिक भार नपर्ने गरि चौधरी फाउण्डेसनका इन्जिनियरहरूले प्रत्यक्ष रुपमा सहयोग गर्ने बताउँदै चौधरी समूहले तीन बर्षभित्र नमूना औद्योगिक ग्राम तयार गरि नवलपरासीलाई औद्योगिक विकासको मूल प्रवाहमा जोड्ने लक्ष्यअनुसार साँसद चौधरीको सचिवालयका कर्मचारीहरुले पनि निरन्तर अनुगमन गर्ने जनाएको छ ।
उक्त परियोजनाको एक समारोहवीच शुक्रवार शिलान्यास गरिएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल र सांसद चौधरीले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन् । उक्त अवसरमा बोल्दै मन्त्री रिजालले पश्चिम नवलपरासीमा निर्माण हुने नमूना औद्योगिक ग्रामले यस क्षेत्रको औद्योगिकीकरण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र औद्योगिक विकासका लागि नीतिगत रुपमा सुधार गर्न आफुले पहल गर्ने पनि मन्त्री रिजालले बताए ।
सांसद चौधरीले आफूले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिवद्धताहरूलाई एक एक गरि पूरा गर्ने शिलशिलामा नमूना औद्योगिक ग्रामको कार्यान्वयन अघि बढेको बताउँदै भने, ‘म आर्थिक विकासका काममा कसैले राजनीति नगरोस् भन्ने चाहान्छु । तर, यहाँ त्यहि भईरहेको छ । म एकपछि अर्को विकासका परियोजना कार्यान्वयनमा व्यस्त छु तर हाम्रा कतिपय मित्रहरू मैले गरेका कामहरूलाई विकास हैन राजनीति हो भनिरहेका छन् । मेरो आग्रह छ, सक्नुहुन्छ भने तपाईँहरु पनि यस्तै विकासको राजनीति गर्नुस् । आर्थिक विकासको अध्यायलाई अगाडि बढाउने काममा जोडिनुस् । चौराहाका चिया पसलमा गफ गरेर राजनीति गर्ने जमाना अब सकिए ।’
प्रतिक्रिया