काठमाडौं । सुखी नेपाली, समृद्ध नेपालको नारासहित अघि बढेको सरकारलाई आर्थिक परिसूचकहरुले भने नराम्ररी धक्का दिएका छन् । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले स्थिर सरकारको समयमा पनि आर्थिक वृद्धि त्रिशंकु सरकारको जस्तै हुने देखाएको छ ।
अर्को वर्ष दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले चालू वर्षमा ८ प्रतिशतको लक्ष्य राखेको थियो । तर, विभागका अनुसार चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने भएको छ ।
आर्थिक वृद्धिमा चामत्कारिक सुधारको प्रचार गरेको सरकारको उपलब्धि पुष्पकमल दाहाल र शेरबहादुर देउवाको पालामा भन्दा कम हुनुलाई सामान्य रुपमा लिन सकिन्न । जबकि पछिल्ला तीन वर्षमा निरन्तररुपमा ६ प्रतिशतबढी आर्थिक वृद्धिदर हुँदै आएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा ६.३० प्रतिशत तथा आव २०७३÷७४ मा ७.७४ प्रतिशतको दरमा आथिृक वृद्धि भएको थियो । मौसम अनुकुल नभएको भए यस वर्षको आर्थिक वृद्धि ५ प्रतिशत हाराहारीमा रहने देखिएको छ । सरकारको भूमिकाका कारण बढ्ने औद्योगिक क्षेत्रको योगदान भने घटेको छ ।
कूल उत्पादनमा कृषि क्षेत्रले २७.५९ प्रतिशत योगदान दिएको छ । निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान १४.६० प्रतिशत रहेको छ ।
कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रले ५७.८१ प्रतिशत योगदान दिएको छ ।
प्रतिव्यक्ति आयमा न्यून वृद्धि
विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रतिव्यक्ति आय एक वर्षमा जम्ममा ३० अमेरिकी डलरले वृद्धि भएको छ । अघिल्लो वर्षमा १००४ अमेरिकी डलर रहेकामा चालू आवमा ३० डलरले बढेर १०३४ डलर पुगेको छ ।
प्रतिक्रिया