Logo

बिजनेस होम

बैंकमा पुँजी भएर के गर्नु ? बजारमा आत्मविश्वासकै कमी छः निरञ्जन श्रेष्ठ


gdpnepal
   ४ फाल्गुन २०८०, शुक्रबार


पोखरा । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ ।

अहिले व्यवपार व्यवसायमा मन्दी छाइरहेकाले निजि क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइरहेका छन् । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ । चियाचौतारीमा पनि अर्थतन्त्रको चिन्ता देखिन्छ ।

सरकारका प्रधानमन्त्री होस् या अर्थमन्त्री अर्थतन्त्रमा सुधार भइरहेको व्यक्तव्यबाजीमा रमाइरहेको अवस्था छ । आम सर्वसाधरणको चासो भने अर्थतन्त्र तङग्रिन्छ की लड्छ ? भन्नेमा छ ।

पोखरामा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार अर्थतन्त्र ः तङ्ग्रिन्छ की लड्छ ? यही विषयमा छलफल भयो । सरकोकारवालाले अर्थतन्त्रमा सुधार भइरहेको दाबी पेश गरे ।

व्यवसायी निरञ्जन श्रेष्ठ नेपालको अर्थतन्त्र विगत २ दकशदेखि धर्मराउदै तंग्रिरहेको बताए । ‘फेरि धर्मराउदै धर्मराउदै एउटा विन्दुमा पुग्छ । ठोस रुपमा हामीले केही गरेनौं भने यस्तै धर्मराउछ’, उनले भने ।

अहिलेको भने निजि क्षेत्र निकै निराश रहेको उनको भनाइ छ । ‘बजारमा व्यापार एकदम तल आएको छ । मागको कमी छ । माग कमी हुनुको मतलब व्यापार व्यवसायमा जो छ उ निश्चय नै निराश हुन्छ । सटर बन्दर भइरहेको छ भने निराश हुन्छ नै’, उनले बताए ।

बाह्य क्षेत्र सुधार भएपनि आन्तरिक रुपमा माग बढाउने काम गर्नुपर्ने उनको धारणा छ । ‘लगानीमा बैंकको ऋण मात्रै आधार हुदैन । व्यवसाय भनेको चक्रको रुपमा बुझ्नपर्छ । बैंकबाट त पुँजी आयो तर त्यसपछि व्यवसाय गर्दा स्वयम पुँजी चाहियो । बजारमा आत्मविश्वास चाहियो’, श्रेष्ठले थपे, ‘अर्को कुरा सबभन्दा ठूलो कुरा आन्तरिक फिर्ता दर हेरिन्छ । अहिले फिर्ता कम छ । बैंकमा पुँजी छ भने लगानी गर्न हिच्किचाउँछ ।’

अर्थतन्त्र कमजोर बन्नुमा निजि क्षेत्रको पनि धेरथोर हात रहेको श्रेष्ठ स्विकार्छन् । उनी भन्छन्, ‘आत्मविश्वास बढ्यो भने अहिलेको अवस्थामा फरक आउँछ ।’

अर्थमन्त्रीको आर्थिक सल्लाहकारसमेत रहेका गुणाकर भट्ट अर्थतन्त्र सुधार भइरहेको बताउछन् । २ वर्ष अगाडि विदेशी विनिमय सञ्चितीमा दबाब रहेको उनी सम्झन्छन् । ‘गतवर्ष पुसमा हेर्दा हामीसँग भएको विदेशी विनिमय सञ्चिती १० अर्ब २८ करोड डलर थियो । अहिले आइपुग्दा १३ अर्ब ६९ करोड डलर विदेशी सञ्चिती छ । त्यसले १२.१ महिनाको बस्तु तथा सेवा आयत गर्न पुग्छ’, उनले भने, ‘ २ वर्ष अगाडि यही बेला नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो नेपाल कतै श्रीलंका त बन्दैन भनेर । हामी त्यहाँबाट माथि उठेको अवस्था छ । एउटा महत्वपूर्ण आधार हो विदेशी विनिमय सञ्चिति ।’

भट्टले अगाडि थपे, ‘हामी ३०० अर्बको पेट्रोलिय पदार्थ आयत गर्छौं । ४०० अर्बको हाराहारीमा खाद्यन्न आयत गर्छौं । त्यस्तो मुलुकमा विदेशी विनिमय सञ्चित थोरै पनि घट्ने वित्तिकै अर्थतन्त्र हल्लिन बेर लाग्दैन, त्यहाँबाट हामी निस्कियौं ।’

डेढ २ वर्ष अगाडि बैंकहरुसँग कर्जा दिने पैसा नभएको उनले सुनाए । उनका अनुसार गतवर्ष माघमा कर्जाको औसत ब्याजदर १३ प्रतिशत थियो । अहिले कर्जाको औसत ब्याजदर ११ प्रतिशतमा झरेको छ ।

‘बैंकहरुसँग बढी भएको पैसा करिब १०० अर्ब राष्ट्र बैंकले तानेर राख्न परेको छ । ब्याजदर पनि तल आइरहेको छ’, अर्थतन्त्रबारेका विज्ञ भट्टले भने, ‘मौद्रिक क्षेत्र, वित्तिय क्षेत्र राम्रो अवस्था देखिएको छ तुलनात्मक रुपमा । गतवर्ष बैंकहरुले ६ महिना १३७ अर्ब कर्जा प्रवाहा गरेका थिए । अहिले ६ महिनाको कर्जा प्रवाहा १९३ अर्ब देखिएको छ ।’
सरकारको वित्त व्यवस्थापन चुनौतिपूर्ण देखिरहेको उनले उल्लेख गरे । ‘सरकारको राजस्व असुली गतवर्षको तुलनामा केही सुधार भएपनि अपेक्षित रुपमा हुन सकिरहेको छैन । आार्थिक गतिविधि अपेक्षित रुपमा विस्तार हुन सकेको छैन’, उनले भने, ‘पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रह्यो । ६ प्रतिशतको अपेक्षा गरेका थियौं । आम मान्छेले महसुश गर्ने मुद्रास्फुर्ति मुल्य वृद्धि पनि उच्च छ ।’ सावधानी अपनाएकै कारण अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

स्वतन्त्र विज्ञ भुवन दाहाल निक्षेप संकलन अनुसार कर्जा प्रवाहा नहुनु अर्थतन्त्रको समस्याको रुपमा लिन्छन् । अर्थशास्त्रमा समस्या देखिएपछि प्रभाव बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरणमा देखिने उनको भनाइ छ ।

‘निष्क्रिय कर्जा बढेको देखिन्छ । यसले अर्थतन्त्रमा समस्या छ भन्नेमा कुनै शंका भएन । निजि क्षेत्र नीति निर्माता सबैले आत्मसाथ गरेर समस्या निराकमरणमा लाग्नुपर्नेछ’, उनले भने ।

उनले थपे, ‘दक्षिण एसियाको तथ्यांक ह¥यौं भने प्रति व्यक्ति आयमा हामी अफानिस्तानभन्दा माथि छौं । बंगलादेशको कुरा गरौं भने पनि हाम्रो भन्दा दोब्बर छ । क्षेत्रफलको कुरा गर्ने हो भने हाम्रो र त्यहाँको एउटै हो । जनसंख्याको कुरा गर्ने हो भने हाम्रोभन्दा ५ गुण बढि छ ।’

अर्थतन्त्र भताभुंग भइसकेको अवस्था नरहेको उनले दाहालले बताए । ‘हामीकहाँ समस्याहरु छन्, समस्याका कारणहरु पनि थाहा छ । अर्थमन्त्रालय, राष्ट्रबैंक, निजि क्षेत्र, बैंकरहरु सबै बसेर एक हप्तासम्म के के गनपर्र्ने हो ? रोडम्याप कोरेर त्यो अनुसार काम गर्नुपर्नेछ’, उनको सुझाव छ । एक अर्कालाई आरोप लगाएर अर्थतन्त्र माथि उकास्न नसकिनेमा उनको जोड छ । अर्थतन्त्रको आकार कसरी बढाउनुपर्ने भनेर सोच्नुपर्नेमा उनको जोड छ । स्थायी सरकारको अवस्था नआएसम्म अर्थतन्त्रलाई दौडाउने अवस्था भने नआउने दाहालको तर्क छ ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह