काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बेला चीन सरकारले केरुङ–काठमाडौं रेलमार्गलाई बेल्ट एन्ड रोड परियोजनामा समेट्ने समाचार सार्वजनिक भएपछि अग्रज पत्रकार राजेन्द्र दाहालले शनिबार एउटा ट्वीट गरे ।
ट्वीटमा भनिएको छः नेपाल–चीन सम्बन्धमा रेल बाहेक अरु कुराले ठाउँ पाउन छोडेको देखिन्छ। चीनका विभिन्न शहरबाट दैनिक आधा दर्जन चिनिया विमान काठमाडौमा ओर्लिन्छन् । तर, नेपालको एउटा पनि विमानलाई चीनमा उडान गर्ने अनुमति छैन ।
के समृद्धिको बाटो रेल मात्रै हो त !? (त्यो पनि कल्पनाको !)
यस्तै, नेपाल वायुसेवा निगमका पूर्वप्रवक्ता सरोज कसजुले नेपाली र चिनियाँ राष्ट्रपतिबीचको भेटघाटपछि प्रकाशित समाचारमा उल्लेखित नेपालको विकासमा साथ छौं भन्ने सि चीनफिङको बिचारमाथि टिप्पणी गर्दै फेसबुकमै यस्तो लेखे–
आफ्नो देशको ६ थान वायुसेवाले दिनमा दशौँ उडान गर्ने तर नेपाललाई एउटो पनि आउन नदिनेले के साथ देला भनि आश गर्नु !
नेपाल र चीनबीचको सम्बन्ध राजनीतिक स्तरमा अहिले निकै सौहार्दपूर्ण देखिए पनि व्यवहारमा भने चीनको हेपाहा प्रवृत्ति भारतको भन्दा कम छैन भन्ने दुई देशबीचको हवाई सम्बन्धले देखाउँछ । नेपाल वायुसेवा निगमलाई जवर्जस्ती आफ्ना जहाज बिक्री गराउने चीन निगमकै जहाजलाई चीनमा अवतरण गराउन भने वर्षौंदेखि आलटाल गरिरहेको छ ।
त्यसो त नेपाल र चीनबीच व्यापारमात्र बढेको छैन कि चिनियाँ पर्यटक नेपाल आउने क्रम ह्वात्तै बढेको छ भने चीनका विभिन्न सहर जाने नेपालीहरुको संख्या पनि उल्लेख्य रुपमा बढेको छ ।
मालसामानको आयात र मानिसहरुको भ्रमण बढ्दा दुवै देश आर्थिक र सामाजिक रुपमा नजिकिएका छन्, निश्चय नै यसले सम्बन्ध सकारात्मक दिशामा अघि बढेको छ । तर, नेपाली वा चिनियाँलाई चीन लैजाने ल्याउने हवाई व्यवसायमा भने चीन एकदमै अनुदार देखिएको छ र नेपाली जहाजलाई चीन जान नदिइ आफूमात्र एकलौटी व्यवसाय गरिरहेको छ ।
चीनबाट हाल चाइना साउदर्न, एयर चाइना, चाइना इस्टर्न, सिचुवान एयरलायन्सले हप्तामै दर्जनौं उडान गरिरहेका छन् । तर, नेपाली जहाज भने चीन जानै पाएका छैनन् ।
नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीन उडानका लागि सक्षम छन । तर, दुवै एयरलाइन्सलाई वर्षौंदेखि चीनले आफ्नो देशमा उडानका लागि अनुमति दिएको छैन ।
हिमालयले त झन् चीन उडानकै लागि भनेर चिनियाँ साझेदासमेत खोजेर एयरलाइन्स स्थापना गरेको थियो । तर, चीनका एयरपोर्टमा स्लट नभएको भन्दै नेपाली एयरलाइन्सलाई रोकिराखेको उड्डयन क्षेत्रका जानकारहरु बताउँछन् ।
यस्तै, निगमसँग पनि अन्तर्रािष्ट्रय उडानका लागि हाल ५ वटा जहाज छन् र एउटा जहाज केही दिनमै आइपुग्दैछ । तर, निगमले पनि वर्षौंदेखि प्रयाश गर्दासमेत चीनले विभिन्न बहाना बनाएर उडान अनुमति दिएको छैन ।
चिनियाँ जहाजको भाडा पनि मनपरी र अत्यधिक महँगो छ । एक ट्राभल व्यवसायीका अनुसार चीनका कुनै पनि गन्तव्यमा ५० हजारभन्दा कममा टिकेट पाइँदैन, जबकि नेपालीले चीनजत्तिकै वा त्योभन्दा टाढा रहेका थाइल्यान्ड, मलेसियालगायतका गन्तव्यमा ३० देखि ४० हजारमा दुईतर्फी टिकट पाइरहेका छन् ।
यसरी उत्तरी छिमेकी चीनले नेपाली जहाजमाथि नियतवश प्रतिबन्ध लगाएर मोनोपोली गरिरहरेको र भाडादरमा चिनियाँ जहाजको सिन्डिकेटले भर्खरै विस्तार हुँदै गरेको दुई देशका नागरिकस्तरको सम्बन्धमा समेत असर परिरहेको छ ।
चीनमै उडानका लागि खुलेको हिमालय एयरलाइन्सले २ पटक प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका लागि चीनमा चार्टर फ्लाइट गरे पनि नियमित उडानको अनुमति भने पाएको छैन । यसले यस कम्पनीको अर्बौं लगानीसमेत जोखिममा परेको छ ।
बरु, भारतले आफ्ना देशका सबै गन्तव्यमा नेपाली कम्पनीलाई निर्वाध उडान दिइरहेको छ तर नेपालको मित्रराष्ट्र भनिएको चिनियाँ पक्षको रवैया भने एकलौटी व्यवसायले अभिप्रेरित देखिएको छ ।
प्रतिक्रिया