काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गत चैत २५ गते नेपाल उद्योग परिसंघको साधारणसभामा चिनी उद्योगीविरुद्ध खनिए । उनले आफूलाई भुलभुलैयामा पारेर चिनी आयात नियन्त्रण गर्न उद्योगीले प्रेरित गरेको आरोप लगाए । यतिमात्र नभै उनले चिनी उद्योगीले कालोबजारी गरेकै कारण बजारमा १०५ रुपैयाँसम्म मूल्य पुगेको टिप्पणी पनि गरे ।
चिनी उद्योगीप्रति सार्वजनिक मञ्चमा निकै आक्रोशित प्रधानमन्त्रीले आफ्नो पुरानो निर्णय सच्याउनु आवश्यक ठानेनन् । बरु चिनी आयातमा प्रतिबन्धको समय थपेर आफैंले आलोचना गरेका व्यवसायीको स्वार्थ पूरा गरेका छन् ।
सार्वजनिक खपतका लागि लोकप्रिय कुरा बोल्ने नेताहरुको आम प्रवृत्ति हो तर यसमा प्रधानमन्त्री ओली एक कदम अगाडि छन् भन्ने यसले देखाएको छ । चिनी उद्योगीले अनावश्यक मूल्य बढाएको भए उनले भोलिपल्टै बोलाएर सोध्न सक्थे । तर, सोधेनन् बरु ८ महिनापछि उद्योगीलाई कालोबजारी गरेको आरोप लगाएर चरित्रहत्यामा अग्रसर देखिए ।
आयातित चिनीका कारण स्वदेशी चिनी बिक्री नभएकोमा कन्भिन्स भएका प्रधानमन्त्रीले व्यवसायीकै कारण मूल्य बढेको आरोप मञ्चबाट लगाए पनि त्यसको कारण छानबिनमा रुची नदेखाउनुलाई भने आश्चर्यका रुपमा लिन सकिन्छ ।
सरकारको निर्णयअनुसार गत वर्षको भदौबाट चैतसम्म लगाइएको बन्देजलाई असार मसान्तसम्म विस्तार गरिएको छ ।
प्रतिक्रिया