काठमाडौं । तपाइँ नयाँ पेट्रोल पम्प स्थापनाका लागि इच्छुक हुुनुहुन्छ ? हुनुहुन्छ भने अहिले उपयुक्त मौका आएको छ । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्पका लागि लाइसेन्स खुला गरेको छ ।
नयाँ लाइसेन्सका लागि ६० दिनभित्र आवेदन दिइसक्नुपर्छ भने सातै प्रदेशमा पेट्रोल पम्प खोल्नसकिनेछ ।
निगमका अनुसार तराईमा पम्प खोल्न यसअघि एक बिघा जग्गा अनिवार्य हुनुपर्ने व्यवस्था रहे पनि अब भने १० कठ्ठा जमिन भए पुग्नेछ । यस्तै, काठमाडौं र ललितपुर महानगरपालिकामा ७५० वर्गमिटर वा १.८ रोपनी जग्गा भएको र सडकतर्फ २० मिटर रहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
पहाडी क्षेत्रमा भने चार कठ्ठा वा दुई रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरिएको छ । पम्प खोल्न चाहने व्यवसायीले विराटनगर, अमलेखगन्ज, काठमाडांै, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा पम्प खोल्नका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।
पछिल्लो समय मुलुकभर पेट्रोलियम पदार्थको खपत बढ्दो छ । त्यसकारण पनि पम्प संख्या थप्नुपर्ने बाध्यता छ । हाल दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल खपत हुँदै आएको तथ्यांक छ ।
यस्तै, निगमका अनुसार साधरण विक्रेता र पेट्रोल विक्रेताबीचको विक्रीस्थलको दूरी कम्तीमा ३ सय मिटर हुनुपर्नेछ । तर, पूर्वपश्चिम राजमार्गको हकमा भने उक्त दूरी ५ सय मिटर बाहिर हुनुपर्नेछ ।
एउटा पम्पको विक्रीस्थलबाट अर्को पम्पको दूरी १० किलोमिटर र उक्त स्थलमा मट्टितेल विक्रेताबाहेक अन्य कुनै विक्रेतालाई नियुक्ती नदिने नयाँ मापदण्डमा उल्लेख छ । तर नमुना पम्प विक्रेताले प्रमाणपत्र पाउनुअघि स्थापना भएका विक्रेताहरूको हकमा भने यस्तो व्यवस्था लागू नहुने निगमले जनाएको छ ।
बिक्रेताको प्रस्तावित विक्रीस्थल नेपालको अन्तर्राष्ट्रिय सीमाबाट कम्तीमा दुई किमी सडक दूरीभन्दा पर हुनुपर्ने छ । सीमा नाकाबाट पेट्रोलियम पदार्थ तस्करी हुनसक्ने खतरालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको निगमका प्रवक्ता गोइतले जानकारी दिए ।
हाल देशभर १ हजार ४ सय ८० पम्प सञ्चालनमा छन् ।
प्रतिक्रिया