काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारद्वार प्रतिनिधिसभामा प्रस्तुत आगामी बजेटका सिद्धान्त र प्राथमिकताप्रति कडा व्यंग्य प्रहार गरेका छन् ।
अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका भट्टराईले बजेटका सिद्धान्त र कार्यक्रम अर्धनिन्द्रामा हाइ काढ्दै लेखिएको निरस निबन्धजस्तै भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्– यहाँ न सिद्धान्तको प्रष्टता छ न त प्राथमिकताको किटान ! हनुमानले विद्यान्चल पर्वत त ल्याए तर संजीवनी चिनेनन् भने जस्तै !
हालैमात्र नयाँ शक्ति पार्टीलाई संघीय समाजवादी फोरमसँग एकीकरण गरेका भट्टराई आफ्नो पार्टी सरकारमा भए पनि आफू भने सत्तापक्ष नरहेको बताउँछन् । संसदीय प्रक्रिया पूरा नहुञ्जेल आफ्नो हैसियत स्वतन्त्र सभासदकै रुपमा रहेको उनको भनाइ छ ।
भट्टराईको ट्वीट जस्ताको तस्तैः
अर्थमन्त्रीद्वारा संसदमा आज (२७ गते)प्रस्तुत आगामी बजेटका “सिद्धान्त र प्राथमिकता” हेर्दा अर्धनिद्रामा रहेको मान्छेले हाइ काढ्दै लेखेको नीरस निबन्ध जस्तो लाग्यो ! त्यहाँ न सिद्धान्तको प्रष्टता छ न त प्राथमिकताको किटान ! हनुमानले विन्ध्याचल पर्वत त ल्याए तर संजीवनी चिनेनन् भने जस्तै !
प्रतिक्रिया