Logo

अर्थनीति

आठ महिनामा ४ प्रतिशतले घट्यो निर्यात


GDP नेपाल
   २२ चैत्र २०८०, बिहिबार


चालु आर्थिक वर्षको पहिलो आठ महिनामा निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा कुल वस्तु निर्यात ४.० प्रतिशतले घटेर एक अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात २९.१ प्रतिशतले घटेको थियो ।

यस्तै, पछिल्लो आठ महिनामा कुल वस्तु आयात पनि २.७ प्रतिशत घटेको छ । तथ्यांक अनुसार उक्त अवधिमा १० खर्ब ३० अर्ब २२ करोडको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात १९.१ प्रतिशतले घटेको थियो ।

कन्द्रिय बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः २७५.५ प्रतिशत र ०.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, ऊनी गलैचा, ब्रान्स लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै, वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २२.९ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.७ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आठ महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई ९२९ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत रहेको थियो ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह