Logo

मुख्य समाचार

प्रचण्ड र ओलीको उक्साहटमा शिशु दलको अस्तित्व मेटाउँदै रञ्जिता


gdpnepal
   ३० चैत्र २०८०, शुक्रबार


काठमाडौं । २०७९ सालको आम निर्वाचनमार्फत उदाएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूसँग असहमत र पति रेशम चौधरी निकट पार्टी नेताहरुलाई छानीछानी कारबाही गर्न थालेकी छन् ।

पति रेशम चौधरीको नाम भजाएर राजनीतिमा आएकी र रेशमप्रतिकै सदभावका कारण चुनावसमेत जितेकी रञ्जिताले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीको उक्साहटमा आफ्नै पार्टी छिन्नभिन्न पारिरहेकी छन् ।

नयाँ सत्ता गठबन्धनमा नजाने संरक्षक रेशम चौधरीको अडान र जाने रञ्जिताको जोडबलबीच पार्टी भने पूरै छिन्नभिन्न भइसकेको छ ।

रञ्जिताले आफ्नो पक्ष नलिने प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गरिसकेकी छन् भने पछिल्लोपटक घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेकी छन् ।

गिरी समानुपातिक सांसद भएका कारण उनलाई पदमुक्त गरेकी रञ्जिताले चौधरी भने निर्वाचित सांसद भएकै कारण निलम्बन मात्र गरेकी हुन् । चौधरी संसदीय दलको नेतासमेत हुन् ।

तर, रञ्जिताले प्रदेश सांसद कैलाश चौधरीलाई संसदीय दलको नेतामा नियुक्त गरेकी थिइन् । संसदीय दलले नेता चयन गर्नुपर्ने संसदीय व्यवस्था रहे पनि उनले केन्द्रबाटै नेता चयन गरेर निर्णय लादेकी छन् ।

सत्ता गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व एक वर्षका लागि नागरिक उन्मुक्तिलाई दिने सहमति भएको छ । संघमा पनि एक मन्त्रालय पाउने शर्तमा उनले विश्वाको मत प्रधानमन्त्री दाहाललाई दिएकी थिइन् ।

२०७४ को निर्वाचनमा रेशम चौधरी विजयी भएको क्षेत्रमा रञ्जिताले २०७९ मा निर्वाचन जितेकी हुन् । निर्वाचन जितेर पनि सांसदको जिम्मेवारी निर्वाह गर्न नपाएका रेशमप्रतिको सहानुभूतिको मत रञ्जिताले पाएकी हुन् ।

रञ्जिता निकटस्थहरुका अनुसार उनी आफैं निर्णय क्षमता भएकी नेतृ होइनन् । प्रधानमन्त्री दाहालसँगको बढ्दो निकटता र एमाले अध्यक्ष ओलीसँगको सामिप्यताका कारण उनी शिशु दल नागरिक उन्मुक्तिलाई संकट थप्दै गइरहेको रेशम पक्षधरहरुको बुझाइ छ ।

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह