Logo

Banner-news

आन्तरिक बचत जीडीपीको २०% नाघ्यो, आर्थिक वृद्धि ७ प्रतिशत !


GDP Nepal
   १३ जेष्ठ २०७६, सोमबार


काठमाडौं । चालू आर्थिक वर्षमा सरकार आर्थिक वृद्धिको लक्ष्यनजिक पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा पेश गरेको चालू आर्थिक वर्षको आर्थिक सर्भेक्षणअनुसार मुलुकको आर्थिक वृद्धि ७ प्रतिशत हासिल हुने भएको छ भने मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित रहने देखिएको छ ।

तर, अर्थमन्त्रीले फागुनको मुद्रास्फीतिमात्र पेश गरेका छन् । जबकि नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा मुद्रास्फीति ४.४ प्रतिशत पुगिसकेको छ भने भारतीय निर्वाचनका कारण वैशाख र जेठ महिनामा उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धि अरु बढ्ने देखिन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा

यद्यपि, अर्थमन्त्रीले चालू आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको दावी गरेका छन् ।
अर्थमन्त्री खतिवडाले आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको दावी पनि गरेका छन् । यस्तै, पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको भन्दै उनले यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको दावी गरेका छन् ।

चालू आवमा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ भने यस वर्ष कुल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब हुने अनुमान छ ।

यस्तै, वित्तीय क्षेत्र स्थायित्वका सूचकहरु सबल रहेको अर्थमन्त्रीले दावी गरे । फागुनसम्म शोधनान्तर स्थिति ५९ अर्ब घाटामा रहेको र चालू खाता १ खर्ब ९१ अर्बले घाटामा रहेको उनले संसदलाई जानकारी गराए ।

वैदेशिक लगानी पनि उत्साहजनक रहेको उनको भनाइ छ । फागुनसम्म २१८ उद्योगमा ११ अर्ब लगानी प्रतिबद्धता भई थप ७ हजार ९५३ रोजगारी सिर्जना हुने अनुमान गरिएको उनले बताए ।

प्रकाशित : १३ जेष्ठ २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह