Logo

अर्थनीति

‘रूग्ण उद्योग पुनः सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौं’: प्रधानमन्त्री दाहाल


GDP नेपाल
   ३१ जेष्ठ २०८१, बिहिबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो भएको छलफलमा उनले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताए ।

उनले भने, ‘विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ । ती उद्योगमध्ये केही उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौं । त्यसैले कुन कुन उद्योगहरू पुनः सञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौं । अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौं ।’

दाहालले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनः सञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रष्ट हुनुपर्ने बताए ।

‘विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगहरूको पुनः सञ्चालन हुन सक्दैनन् । सार्वजनिक–निजी साझेदारीको मोडेल नै ती उद्योगहरू सञ्चालन गर्ने मोडेल हो । बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग लगायतका उद्योगहरूको सम्भाव्यता बलियो छ । त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहने गरी साझेदारीको मोडेल तयार गरौं,’ उनको भनाइ थियो ।

छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउत लगायत सहभागी थिए ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह