Logo

Banner-news

एक दिनको आयात धान्न १५ दिन निर्यात गर्नुपर्ने !


GDP Nepal
   ५ असार २०७६, बिहिबार


काठमाडौं । नेपालको व्यापारघाटा भयावह रुपमा बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार एक दिनको आयातलाई सन्तुलनमा ल्याउन निरन्तर १५ दिन निर्यात गर्नुपर्छ । अर्थात निर्यातभन्दा आयात १५ गुणा बढी छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्ममा कुल व्यापारघाटा १९.७ प्रतिशतले विस्तार भई १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

१० महिनामा नेपालले ७८ अर्ब ५३ करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ । यस अवघिमा कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ ।

यस हिसाबले व्यापारघाटा प्रतिदिन ३ अर्ब ६६ करोड हुने गरेको पाइन्छ भने आयात प्रतिदिन ३ अर्ब ९२ करोड र निर्यात भने २६ करोड १७ लाख रुपैयाँमा सीमित छ ।

यसरी मुलुक भित्रिने आयभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति संकटपूर्ण देखिएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा मुलुकको शोधनान्तर घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९ अर्ब २७ करोड रुपैयाँले बढेर ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

यो अवधिमा चालू खाता घाटा विस्तार भइ २२१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९२ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, मुद्रास्फीति पनि सरकारको नियन्त्रणबाहिर पुग्न थालेको छ । वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो ।

तर, चालू आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि भइ ७२५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित : ५ असार २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह