Logo

Banner-news

पारवहनमा भारतीय कम्पनीको मनोमानी रोक्न व्यवसायीले भारतका वाणिज्य सचिव गुहारे


GDP Nepal
   ११ श्रावण २०७६, शनिबार


काठमाडौं । भारतको वाणिज्य तथा आपूर्ति मन्त्रालयका विशेष सचिव (लजिस्टिक) एन सिभासैलामसँग नेपाली कार्गो व्यवसायीहरुले भारतीय कम्पनीको मनोमानी रोक्न आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका विशेगा सचिव सिभासैलामसँग नेपालका फ्रेट फरवार्डर्सहरुले यस्तो आग्रह गरेका हुन् र

नेपाल उद्योग वाणिज्य महासंघमा शनिबार भएको छलफलमा फ्रेड फरवार्डर्स एशोसिएसनका निवर्तमान अध्यक्ष राजन शर्माले कोलकाता बन्दरगाहमा भारतीय कम्पनीहरुको एकाधिकार रहेकाले लागत बढेको तथा समयमा सामान पास नहुने समस्या रहेको भन्दै आपत्ति जनाए । उनले कंकरको एकाधिकारले नेपाली व्यवसायी समस्यामा परेको गुनासो गरे ।

महासंघमा शनिबार भएको छलफल

महासंघकी अध्यक्ष भवानी राणाले भारतसँगको व्यापारमा पारवहन लागत अत्यधिक भएको उल्लेख गर्दै त्यसलाई कम गर्न भारत सरकारसमक्ष आग्रह गरेकी छन् । नेपाल दिगो आर्थिक विकासको गतिमा अघि बढेको उल्लेख गर्दै अध्यक्ष राणाले यस्तो बेला वाह्य उत्पादनको आयात अत्यधिक हुने र त्यसमा लागत घटाउनुपर्ने चुनौती रहेको बताइन् ।

विशेष सचिव सिभासैलाम नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासंघ र मेरिटाइम गेटवे इन्डियाद्वारा संयुक्त रूपमा आइतबार काठमाडौंमा आयोजना हुन लागेको नेपाल–भारत पारवहन सहजीकरण सम्मेलनमा भाग लिन काठमाडौं आएका हुन् । महासंघ पदाधिकारी तथा नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका प्रतिनिसँग दुई देशबीचको पारवहनका विद्यमान चुनौती तथा व्यावहारिक समस्याका विषयमा छलफल भएको हो ।

यसअघि महासंघ अध्यक्ष भवानी राणाले विशेष सचिव एन सिभासैलामको महासंघ सचिवालयमा स्वागत गरिन् । उक्त भेटवार्ता कार्यक्रममा भारतीय सरकारको वाणिज्य मन्त्रालयका सहसचिव अनन्त स्वरूप, नेपालस्थित भारतीय राजदूतावासका द्वितीय सचिव (वाणिज्य) कपिध्वज प्रताप सिंह, महासंघ कार्यकारिणी समितिका सदस्यहरू अशोककुमार तोदी, प्रकाशसिंह कार्की, भरतराज आचार्य, प्रवलजंग पाण्डे, पूर्वसदस्य राजन शर्मालगायत फ्रेट फरवार्डर्र्स व्यवसायमा आबद्ध उद्यमी व्यवसायीहरू सहभागी थिए ।

उक्त भेटवार्तामा महासंघ अध्यक्ष राणाले भारत, नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको र अधिकांश व्यापार भारतीय भूमि भएर हुने गरेको स्थितिमा पारवहनका विषयमा देखापरेका समस्याहरूको समाधान गरी निर्वाध व्यापार व्यवसायको वातावरण बन्नुपर्नेमा नेपाली निजी क्षेत्रको धारणा राखेकी थिइन् । उनले विशेष सचिवसँग भएको महत्वपूर्ण अन्तरक्रियाबाट पारवहन क्षेत्रमा देखिएका विद्यमान समस्याका विषयमा स्पष्ट पार्ने मौका मिलेको र समस्या समाधानमा विशेष सचिवबाट महत्वपूर्ण पहल हुने विश्वास प्रकट गरिन् ।

विशेष सचिव एन सिभासैलामले नेपाल भारत पारवहनका विषयमा प्रत्यक्ष रूपमा नेपाली उद्यमीहरूसँग बसेर छलफल गर्ने मौका प्राप्त भएकोमा खुसी व्यक्त गर्दै स्थलगत रूपमा रहेका समस्या समाधानमा आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाए । भारत र नेपालबीच व्यापारको दृष्टिकोणले मात्र नभइ अत्यन्त पारिवारिक सम्बन्धसमेत रहेकाले आपसी लाभका लागि संयुक्त रूपमा सहकार्य गर्न भारत सरकार तयार रहेको समेत उनले स्पष्ट पारे । छलफलमा उठेका नीतिगत, पूर्वाधार तथा स्थलगत सबै प्रकारका समस्या समाधानमा सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

छलफलमा नेपाली उद्यमी व्यवसायीहरूको तर्फबाट नेपालले पैठारी गरेका सामानहरू बन्दरगाहमा जाहाजबाट झार्ने, गोदाममा राख्ने, रेलका डिब्बाहरूको अपर्याप्तता लगायतका कारण नेपाल पठाउने क्रममा विभिन्न प्रकारका समस्याहरू रहेको, त्यसले अनावश्यक खर्च बढाइ रहेको, गोदाममा रहेका सामान नेपाल पठाउन अनावश्यक ढिलाइ हुँदा ठूलो रकम विलम्ब शुल्कबापत तिर्नुपरेको धारणा राखे । यस्तै, कतिपय ठाउँमा पूर्वाधारसमेत अत्यन्त कमजोर रहेका कारण समस्या उत्पन्न भएको र यसबाट समग्रमा नेपालको व्यावसायिक लागतसमेत बढ्न गएकाले समस्या समाधानका लागि सचिव एन सिभासैलामको ध्यानाकर्षण गराइएको थियो ।

पारवहनका सम्बन्धमा विद्यमान समस्या र समस्या समाधानतर्फ भइरहेका प्रयासको पृष्ठभूमिमा नेपाल–भारतबीचको पारवहनलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले आइतबार काठमाडौंमा नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन आयोजना हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा दुवै देशका व्यापार तथा वाणिज्य क्षेत्रका विज्ञहरू, सरकारी पदाधिकारीहरूबाट पारवहन, आयात निर्यातलगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुने जनाइएको छ ।

प्रकाशित : ११ श्रावण २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह