काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार अर्को उचाइ चुमेको छ । मंगलबार ६८ हजार प्रतितोलामा कारोबार भएको सुनको भाउ बुधबार प्रतितोला १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय पुगेको छ ।
पछिल्लो एक सातायता सुनको मूल्य लगातार उकालो लाग्दै आएको हो । सोमबार पनि सुन प्रतितोला ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेपछि बजारमा अहिले सुन किन्नेभन्दा बेच्नेकै भीड बढी छ । अधिकांश सुन पसलले बाइब्याक ग्यारेन्टी दिएका कारण उपभोक्तासँग खरिद गर्नैपर्ने बाध्यता पनि छ ।
महासंघका अनुसार पछिल्लो साता सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँ रुपैयाँ वृद्धि भएको छ । गत बिहीबार प्रतितोला ६५ हजार रहेको सुनको मूल्य बुधबारसम्म तोलामा साढे चार हजार रुपैयाँले बढेर प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा पुगेको हो ।
यसरी सुनको मूल्यले उचाइमा रहेका बेला नयाँ सुन खरिद गर्नुभन्दा भएको सुन बिक्री गर्ने प्रवृत्ति देखिए पनि अझै पनि उपभोक्ताले खरिद मूल्यबराबर प्राप्त गर्नसक्ने अवस्था भने छैन । काँचो सुन राख्ने प्रचलन नभएको र गहना बनाउँदा ज्याला, जर्तीलगायत जोडिने र बिक्री गर्दा त्यो नपाइने भएकाले आवश्यक नभइ बिक्री गरिहाल्नु उचित नभएको जानकारहरु बताउँछन् ।
ज्याला र जर्तीको हिसाब गर्दा प्रतितोला ५५ हजार हुँदा गहना किन्नेले मात्र अहिले साँवा उठाउनसक्ने अवस्था छ । अर्कोतर्फ यो मूल्यवृद्धि स्थायी नभएकाले भोलिका दिनमा थप बढ्नसक्छ भन्ने आकलनका आधारमा खरिद गरिहाल्नु पनि बुद्धिमानी नहुने जानकारहरुको भनाइ छ ।
प्रतिक्रिया