Logo

अर्थनीति

नेपालीको थाप्लोमा २४ हजार ऋण, शासन गर्ने मन्त्रीहरु भने करोडपति !


appharu
   १० जेष्ठ २०७५, बिहिबार


काठमाडौं । नेपालको आर्थिक वृद्धिदर मुश्किलले ६ प्रतिशत छ भने प्रतिव्यक्ति आम्दानी बल्ल वार्षिक १ लाख नाघेको छ । यस्तै, देश विकासका नाउँमा लिइएको ऋणबापत नेपालीको थाप्लोमा प्रतिव्यक्ति ऋण २४ हजार १ सय ४७ रुपैयाँ पुगेको छ ।

औषत नेपालीको जीवनस्तर झल्काउने विवरण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १ महिना पनि नपुग्दै नेपालका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

गणतन्त्र स्थापनापछि जनताले चुनेका प्रतिनिधिहरु शासनसत्तामा छन् र यीमध्ये अधिकांशको पृष्ठभूमि सामान्य नागरिकसरह नै हो । तर, कानुनले निर्धारण गरेभन्दा ढिलोगरी सार्वजनिक भएको उनीहरुको सम्पत्ति विवरण हेर्दा पत्याउनै नसकिने देखिएको छ ।
सम्पत्ति विवरण हेर्दा राज्यले अनुत्पादक भनेर आयातमा कडाइ गरेको सुनचाँदीदेखि बैंकलाई कर्जामा कडाइ गर्न लगाइएको घरजग्गामै उनीहरुको मोह देखिन्छ । यसले राज्यको नीति एकातिर र यसको परिपालना गराउने निकायका तालुकदारहरु नै अर्कोतिर हिंडिरहेको देखिन्छ ।

अब लागौं सम्पत्ति विवरणतर्फ । मुलुकमा विकास र समृद्धि तथा सुशासनको नारा दिने मन्त्रिमण्डलको नेतृत्व गर्ने केपी ओलीका आफ्नै सन्तान भने छैनन् । तर, उनी सम्पत्ति जोड्ने मामिलामा भने निकै खुला देखिएका छन् ।

प्रधानमन्त्री नै करोडपति !
प्रधानमन्त्री ओलीको डेढ रोपनी जग्गामा तीन तले दुईवटा घर रहेका छन् । दुवै घर पत्नी राधिका शाक्यको नाममा रहेको ओलीले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीको नाममा बैंकमा ४२ लाख र पत्नी राधिकाको नाममा १० लाख मौज्दात रहेको छ भने राधिकाको नाममा २५ लाख रुपैयाँ नेपाल राष्ट्र बैंकको बचतपत्रमा लगानी रहेको छ । यस्तै, आफूसँग १७/१८ तोला सुन रहेको प्रधानमन्त्री ओलीको सम्पत्ति विवरणमा उल्लेख छ । सबैभन्दा अचम्म त अघिल्लोपटक प्रधानमन्त्री हुँदाभन्दा २ वर्षकै अवधिमा उनको नगद सम्पत्ति ४० लाखले बढेको छ ।

नगदमा अर्थमन्त्री, फिक्स्ड प्रोपर्टीमा महासेठ
ओली सरकारका अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग पद र थरअनुसारकै सम्पत्ति रहेको पाइएको छ । मुलुकको सबै राजस्व उठाउने अथए मन्त्रालयको नेतृत्व गरिरहेका खतिवडासँग आफ्नै खातामा नगद परिमाण आश्चार्यजनक देखिएको छ भने धनीमानीलाई नेपालमा सेठ भनिने र त्योभन्दा पनि धेरै धनीलाई महासेठ भनिने प्रचलनलाई रघुवीरले चरितार्थ गरेका छन् ।

विवरण अनुसार अर्थमन्त्री खतिवडाको नाममा विभिन्न बैंकमा ९४ लाख ६८ हजार रुपैयाँ तथा ६२ हजार ७ सय ३ अमेरिकी डलर मौज्दात रहेको छ । यसबाहेक उनले विभिन्न व्यक्तिलाई २४ लाख रुपैयाँ ऋण दिएका छन् । अर्थमन्त्री खतिवडासँग काठमाडौंको धुम्बाराहीमा १ रोपनी ३ आना जग्गामा घर छ भने भक्तपुरको दुवाकोटमा आफ्नो र पत्नी कमलाको नाममा १ रोपनी ८ आना तथा काठमाडौंको कागेश्वरीमा पत्नीको नाममा ४ रोपनी १ आना जग्गा छ । खतिवडासँग सुन भने १० तोला मात्र रहेको छ ।

यता, महासेठको जनकपुर र ललितपुरको भैंसेपाटीमा अढाईतले घरका अलवा ललितपुर उपमहानगरपालिकामा ४ रोपनी ४ आना जग्गा छ । ५२ तोला सुनका धनी महासेठसँग जवाहरत पनि प्रशस्त रहेको उनले बुझाएको विवरणमा उल्लेख छ । महासेठले पत्नी सांसद् जुली महतोको नाममा विभिन्न बैंकमा ४० करोड १ लाख ५० हजार रुपैयाँको सेयर लगानी रहेको तथा धनुषामा आफू र पत्नीको नाममा प्रशस्त जमिन रहेको उल्लेख छ । यसबाहेक महासेठको नाममा बैंकमा ७२ लाख रुपैयाँ नगद मौज्दात छ ।

अधिकारीको पनि उल्लेख्य
सम्पत्तिमा युवा पुस्ताका चर्चित नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि कम छैनन् । सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनीसँग ६० तोला सुन र ३० किलो चाँदी छ । पोखरा र काठमाडौंमा गरी तीन वटा घर छ भने पोखरामा दुई स्थानमा जग्गा पनि छ । उनीसँग बैंक खातामा साढे २४ लाख रुपैयाँ मौज्दात र २० लाख बराबरको कार छ ।

लालबाबुको आश्चार्यजक सम्पत्ति
निर्वाचनका बेला चन्दा उठाएर र किताब बेचेर प्रचारप्रसार गर्दा लालबाबु पण्डितले निकै वाहवाही पाए । तर, उनको सम्पत्ति विवरण हेर्ने हो भने जो कोहीले पनि अचम्म नै मान्छ ।
पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गरेका छन् । विराटनगर एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनी र श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात छ ।

अपबादबाहेक सबै एक से एक
रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री गोकर्ण विष्ट, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले काठमाडौं उपत्यकामा घर जोडेका छन् । रक्षामन्त्री पोखरेलको काठमाडौंको टोखामा १ रोपनी ७ आना जग्गामा तीनतले घर छ भने पत्नी मीरा र आफ्नो नाममा १२ लाख नगद तथा ८/९ तोला सुन रहेको पोखरेलले चैत १२ गते बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।
काठमाडौंको शंखमुलमा पत्नी सरस्वती ज्ञवालीको नाममा दुई तले पक्की घर बनाएका परराष्ट्रमन्त्री ज्ञवालीले कोठा थप्नका लागि ९ जनासँग १४ लाख ८५ हजार ऋण लिएको बताएका छन् । ज्ञवाली २२ सदस्यीय मन्त्रिपरिषदमा सबैभन्दा कम गरगहना भएका मन्त्रीको सूचिमा छन् । उनले आफूसँग दुई तोला सुन रहेको उल्लेख गरेका छन् ।
मन्त्रिपरिषद् कार्यालयमा बुझाएको विवरणअनुसार श्रममन्त्री गोकर्ण विष्टको नाममा ७३ लाख रुपैयाँ ऋण छ ।

माओबादीबाट मन्त्री बनेकाको न्यून
गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री वीना मगरले आफ्नो र परिवारका सदस्यको नाममा काठमाडौं उपत्यकामा घर घडेरी नरहेको उल्लेख गरेका छन् ।
गृहमन्त्री थापाले ३ लाख नगद र ६ तोला सुन, ऊर्जामन्त्री पुनले १५ तोला सुन र १० लाख ५० हजार नगद, बस्नेतले १५ लाख नगद र ५ तोला सुन तथा मगरले ५ तोला सुन रहेको सम्पत्ति विवरण बुझाएका छन् ।
उद्योगमन्त्री मातृका यादवसँग ललितपुरको चापागाउँमा ३ रोपनी ४ आना तथा सिरहा र धनुषामा ७५ लाख मूल्यको जग्गा तथा १० तोला गहरगहना रहेको उल्लेख गरेका छन् ।

प्रकाशित : १० जेष्ठ २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह