Logo

Banner-news

अब पनि युवराज खतिवडाबाट समृद्धि सम्भव छ ?


GDP Nepal
   २८ भाद्र २०७६, शनिबार


काठमाडौं । अर्थमन्त्रीका रुपमा गैरराजनीतिक पृष्ठभूमिका डा. युवराज खतिवडालाई छनोट गर्ने केपी ओलीको निर्णय त्यतिबेला बुद्धिमत्तापूर्ण मानिए पनि अहिले आएर आत्मघाती सावित हुँदैछ । संसारमा आफूभन्दा जान्नेबुझ्ने कोही छैन भन्ने खतिवडाको मपाइँत्वको शिकार सिंगो नेपाली अर्थतन्त्र हुँदैछ भने यसले दुईतिहाई बहुमतको सरकारको अभूतपूर्व अवसरसमेत खेर जाने देखिएको छ ।

खतिवडालाई प्रधानमन्त्री ओलीको आशिर्वादमात्र नभै आडभरोसा छ र सोही आडमा उनी सहकर्मी मन्त्रीहरुको त कुरा सुन्दैनन् भने अर्थतन्त्रको इञ्जिन भनिने निजी क्षेत्रलाई त झन् कुनै भाउ नै दिँदैनन् । यहाँसम्म कि निजी क्षेत्रलाई उनीहरुको कार्यक्रममा गएर विश्वविद्यालयको कक्षाकोठामा जसरी पढाइरहन्छन् खतिवडा ।

खतिवडा नेतृत्वको अर्थ मन्त्रालयले ल्याएका नीतिहरु पूर्णतः नियन्त्रणमुखी छन्, जुन सिद्धान्ततः बीसौं शताब्दीको कम्युनिष्ट पार्टीको नीतिलाई पुनर्जीवित गर्नेखालका छन् । तर, मुलुकको संविधान २०७२ को पूर्ण प्रतिकुल पनि छ । संविधानले मुलुकलाई समाजवादउन्मुख अर्थव्यवस्था भने पनि अन्य प्रावधानहरुमा खुला बजार अर्थनीति र उदारवाद अंगिकार गरिएको छ । तर, खतिवडाका पाइला भने नियन्त्रणमुखी बाटोतर्फ उद्यत छन् ।

पछिल्ला केही निर्णयले खतिवडाको नीतिसँगै नियत पनि उदांगो भएको छ । अर्थतन्त्र नियन्त्रणमुखी बन्दै गएको जो कोहीले सहजै अनुभूत गर्न थालेका छन् । पुख्र्यौली सम्पत्तिको हक हस्तान्तरणमा सरकारले लाभकरका रूपमा ठूलो कर दायित्व सिर्जना गर्न खोजिरहेको छ । खतिवडाले यसलाई बहसमा ल्याउन चाहनुले नै उनको नियत छरपष्ट भएको छ ।

यतमिात्र होइन, हालैमात्र सरकारले कर निगरानी बढाउनका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिँदा तीन वर्षको आयव्यय विवरण आन्तरिक राजस्व विभागमा पनि बुझाउनुपर्ने व्यवस्था लागू गरेको छ । कारण जे भनिए पनि यसको उद्देश्य नियन्त्रणमुखी नै हो । अर्कोतर्फ ग्राहकको तीनपुस्ते पहिचानको व्यवस्था पनि यसैको उपज हो ।

कुनै पनि कम्पनीमार्फत २५ लाख रुपैयाँभन्दाको कारोबार गर्दा तीनपुस्ते विवरण खुलाउनुपर्ने अव्यावहारिक व्यवस्था खतिवडाको नियन्त्रणमुखी सोचकै उपज हो । किनकी दुई वर्षयता १० लाख रुपैयाँभन्दा बढीको कारोबार बैंकमार्फत गर्नुपर्ने व्यवस्था लागू गरिसकिएको अवस्थामा थप नियन्त्रण जरुरी थिएन ।

सेयर बजारका सम्बन्धमा त खतिवडा पदमा रहेसम्म बजारले कुनै गति नलिने स्पष्ट भइसकेको छ भने वैदेशिक लगानी भित्रिने र आन्तरिक लगानीका अवसर वृद्धि हुने कुरा पनि कल्पनाबाहिर नै पुगिसकेको छ ।

यसर्थ, सुखी नेपाली समृद्ध नेपालको केपी ओलीको सपना खतिवडाबाट पूरा गर्न असम्भव देखिइसकेको छ । समृद्धिका साधक मानिएका खतिवडा नै यसको बाधक बन्नलागेको यथार्थलाई ओलीले कहिले हृदयंगम गर्लान् ?

प्रकाशित : २८ भाद्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह