Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमईको पक्षमा बैकिङ क्षेत्र एकतावद्धः अराजक गतिविधिको निन्दा


gdpnepal
   २५ माघ २०८१, शुक्रबार


काठमाडौं । पाथिभरा केबलकार निर्माणसम्बन्धी विवादमा ग्लोबल आइएमई बैंकलाई अनावश्यक रुपमा मुछिएको भन्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न संघसंस्थाहरुले आपत्ति जनाएका छन् ।

नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

चारवटै संस्थाद्वारा जारी संयुक्त विज्ञप्तिमा आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने तथा ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गरिएको छ ।

संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको जनाइएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सूरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराइएको छ ।

“बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र ’बैंकको सुक्ष्म निगरानी र सोको नीति नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको सर्वविदितै छ,” विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको विज्ञप्तिमा उल्लेख छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना र समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन आग्रह गरिएको छ ।

 

प्रकाशित : २५ माघ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह