काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ।
विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ। गत आव २०८०र८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। त्यसतै, प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ। यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट १ अर्व १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट ५ अर्व १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ। खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ।
भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ। गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ। यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्व ३५ करोड रुपैयाँ खर्च गरिएको छ। वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्व ४९ करोड रुपैयाँ खर्च भएको छ।










प्रतिक्रिया