काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघले विद्युत आपूर्ति व्यवस्थामा हालैका दिनमा दैनिक १२ देखि १४ घण्टा सम्म विद्युत कटौती हुदै आएको विषय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
संघले आज एक विज्ञप्ति जारी गर्दै निरन्तर २४ सै घण्टा विद्युत आपूर्ति नहुँदा उद्योगले थप आर्थिक व्ययभार व्यहोर्नु पर्ने र यसको फलस्वरुप आम उपभोक्ता लगायत सर्वसाधारण जनता समेत मार्का परेको बताएको हो।
“अरवौंको लगानी गरी स्थापित सिमेन्ट उद्योगहरुले विगतका केही वर्ष देखि स्वदेशी उत्पादित सिमेन्टमा मुलुकलाई आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गरी छिमेकी मूलुकमा निर्यात समेत गर्न थालेको वर्तमान परिप्रेक्षमा यस प्रकारको विद्युत आपूर्ति कटौतीले मुलुकको राजस्व वृद्धिमा समेत नकरात्मक असर पर्न जाने स्पष्ट छ,” संघले विज्ञप्तिमा भनेको छ ।
त्यस्तै, संघले लोडसेडिङ्गका कारण उद्योगहरुले वैकल्पिक उर्जाको प्रयोग गरी किल्ड्कर र सिमेन्ट उत्पादन गर्दा लागत वृद्धि हुने भएकोले सोही अनुसार बिक्री मूल्य निर्धारण गर्नुपर्ने वाध्यात्मक परिस्थिती सिर्जना हुन सक्ने जानकारी समेत दिएको छ ।
“नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता समेतका भनाई अनुसार नेपालमा भारतबाट दैनिक २० घण्टासम्म विद्युत् आयात हुँदा समेत सिमेन्ट उत्पादन गर्ने लगायतका ठूला उद्योगहरुलाई माग बमोजिमको विद्युत आपूर्ति नभई विद्युत कटौति भएकै अवस्था थियो । हालै १५ मार्च २०२५ देखि भारतले सूर्य उदय देखि अस्तको समय (Solar Hour) अवधिमा मात्र विद्युत् आपूर्ति गरेको भनि केहि अघि देखि सिमेन्ट उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणबाट दैनिक १२ देखि १४ घण्टा सम्म अघोषित लोडसेडिङ्ग गरेको हुँदा यस संघको गम्भीर रुपमा ध्यानाकर्षण हुन गएको छ। हाल भैरहेको लोडसेडिङ्ग अन्त्य गरी निर्वाध रुपमा २४ सै घण्टा विद्युत उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल विद्युत प्राधिकरण, उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विभिन्न संसदीय समितिहरु लगायतका सरोकारवाला संस्था र अधिकारीहरुलाई हार्दिक अनुरोध गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया