काठमाडौं । संघीय सरकार र काठमाडौं महानगरपालिकाकाबीच यतिबेला रस्साकस्सी चलिरहेको छ । प्रमुख कार्यकारी अधिकृतका विषयमा चलिरहेको विवाद समाधान नहुँदा महानगर नेतृत्व उग्र बनेकोछ ।
सात दिनभित्र नयाँ प्रमुख कार्यकारी नपठाएर सबैलाई टुकुचामा गाड्ने धम्की दिएका मेयर बालेन शाहले सचिवालयमार्फत अर्को समाचार सनसनी बनाएका छन्- काठमाडौं टावर भत्काउने !
मेयर शाहका स्वकीय सचिव भूपदेव साहमार्फत सनसनी फैलाइएको यो समाचार मूलत: संघीय सरकारलाई झुकाउन मिडिया ट्रायल गरिएको जानकारहरु बताउँछन् ।
”बालेन शाह सन्की छ, उसले जे पनि गर्न सक्छ भन्ने भाष्य निर्माण भैरहेको बेला काठमाडौं टावर भत्काउने खबर नियोजित रूपमा फिँजाइएको छ,” स्रोत भन्छ, ”निर्माणाधीन टावर भत्काउनु कानुनी, सामाजिक र नैतिक रूपमा अनुचित मात्र नभै अमानवीय पनि छ ।”
टावर भत्काउन संघीय सरकारको सहयोग नरहने र अदालतले समेत अनुमति दिने अवस्था छैन । यसअघि भक्तपुरको राधेराधेमा निजी जग्गामा बनाइएको यस्तै भवन हालसम्म सञ्चालनमा आउन नसके पनि भत्काइएको छैन ।
काठमाडौं टावर भने बुट मोडलमा निर्माण सम्झौता रहेकाले सरकारको स्वामिस्व यसमा रहन्छ।
मेयर बालेन शाहले टावर विवादमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जवर्जस्ती मुछेको संघीय सरकारको बुझाई छ । शाह भने सरकारले उनको पक्षपोषण गरेको भन्दै आक्रोशित छन् ।
यही विवादमा महानगरको खाता सञ्चालन नहुँदा कर्मचारीले तलब पाएका छैनन् ।
काठमाडौं महानगर वडा नम्बर २८ पुरानो बसपार्कस्थित निर्माण भइरहेको टावर श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले निर्माण गरिरहेको हो । यो टावर निर्माण गर्ने निर्णय २०७१ फागुन २० गते भएको थियो ।
निर्माण कम्पनीले ३० वर्षका लागि चलाउने गरी सम्झौता गरिएको थियो । २०७३ साउन ३० गते उक्त सम्झौताका आधारमा पाँच वर्षभित्र निर्माण सम्पन्न गरी ३० वर्षका लागि सञ्चालन गर्ने भनिएको थियो ।
त्यसपछि २०७४ वैशाख ८ गते प्लिन्थ लेभलभन्दा माथि निर्माण अघि बढाउन नपाइने भनी दुई पक्षीय पक्षबीच सहमति भएको थियो । यसै विषयमा विवाद छ ।
प्रतिक्रिया