बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैंककमा थाइल्यान्डका व्यवसायीहरूसँग भेटवार्ता गर्नुभएको छ।
नेपाली व्यवसायी प्रतिनिधिमण्डल समेत सहभागी उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाललाई लगानीको लागि उर्वर भूमि भएको बताउँदै थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कानुनी सुधार गरिसकिएको र सरकारले लगानी सुरक्षाको प्रत्याभूति दिने जानकारी दिनुभयो। उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमा लगानीका अवसर खोज्न सकिने उल्लेख गर्नुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भइसकेको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको तथा उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला मुलुकहरू रहेकोले नेपालमा लगानी गर्दा फाइदा लिन सकिने बताउनुभयो। उहाँले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा ठूलो सम्भावना रहेको जानकारी गराउनुभयो।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंककमा रहेको छ। नेपाल र थाइल्यान्डबीच बुधबार मात्रै २ वटा सरकारी तथा ६ वटा गैरसरकारी गरी ८ ओटा सम्झौतामा हस्ताक्षर भएका छन्।
प्रतिक्रिया