कृषकको वित्तीय सुरक्षा र जोखिम व्यवस्थापनका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशअन्तर्गत संखुवासभा र भोजपुरका तीन स्थानमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू सम्पन्न गरेका छन्।
चैत्र १९ गते संखुवासभा जिल्लाको पाँचखपन नगरपालिकामा आयोजित कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्य रहेको थियो। खादबारी शाखा प्रमुख दुर्गा प्रसाद गौतमको सञ्चालनमा भएको कार्यक्रममा कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले बीमा प्रक्रिया, दावी व्यवस्थापन, नयाँ सफ्टवेयर र प्रविधिको प्रयोगमा अभिकर्ता र प्रविधिकको भूमिका बारे विस्तृत जानकारी दिएका थिए।
त्यस्तै, चैत्र १७ गते भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं. १ मा भएको कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ प्रमुख अतिथि थिए भने कम्पनीका शाखा प्रमुख सन्तोष तिवारीले सञ्चालन गरेका थिए। कार्यक्रममा बीमाको आवश्यकता, प्रक्रियाहरू, दावीको क्षतिपूर्तिका लागि आवश्यक कागजातहरू लगायतका विषयमा जानकारी दिइएको थियो।
चैत्र १८ गते कृषि ज्ञान केन्द्र भोजपुरको सभाहलमा सम्पन्न कार्यक्रममा केन्द्र प्रमुख मुकेश कुमार यादवको अध्यक्षता र वडा नं. ६ का वडा अध्यक्ष फडिन्द्र प्रधानको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बीमाका प्रचलन, जोखिम सुरक्षा, अनुदान प्राप्त प्रिमियम तथा बीमालेख जारी गर्ने सरकारी सफ्टवेयर प्रणालीबारे जानकारी गराएका थिए।
प्रतिक्रिया