Logo

Banner-news

ठूला परियोजना विना अवरोध कार्यान्वयनः प्रधानमन्त्री


GDP Nepal
   १४ पुस २०७६, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला परियोजनाहरुलाई विना अवरोध कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले विकासका लागि सबै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।

आइतबार बसेको लगानी बोर्डको ४२ औ बैठकमा प्रधानमन्त्रीले समन्वयको खाँचो औंल्याएका हुन् । बोर्डले तीन जलविद्युत् आयोजनाको लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

कोरियाली कम्पनीको लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका लागि करिब ६५ अर्ब, चिनियाँ कम्पनीले निर्माण गर्न लागेको ५० मेगावाटको मस्र्याङ्दीबेसी जलविद्युत्का लागि ११ अर्ब ७७ करोड ५४ लाख तथा नेपाल टेलिकम समेतले लगानी गर्न लागेको ३७ मेगावाटको त्रिशूली ३ बी आयोजनाका लागि ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृति गर्ने निर्णय गरेको हो ।

बोर्डका प्रवक्ता बलराम रिज्यालका अनुसार अरुण तेस्रो जलविद्युत् परियोजनाको छ्याङकुटीदेखि दिदिङ प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्बन्धमा अध्ययन गर्न गठित छानवीन समितिलाई प्राविधिकहसहितको थप जनशक्ति उपलब्ध गराई दुई महिनाभित्र यथार्थ विवरण पेश गर्ने गरी पुर्नगठन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश–३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश–१ को उर्लावारी तथा प्रदेश–२ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकार÷संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

परियोजना कार्यान्वयन प्रक्रियालाई अघि बढाउन विकासकर्ताको छनोट गर्ने लगायतका कार्यमा आवश्यक प्राविधिक सहयोग, समन्वय तथा सहजीकरण गर्न पनि बोर्ड कार्यालयलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको प्रवक्ता रिज्यालले जानकारी दिए ।

प्रकाशित : १४ पुस २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह