काठमाडौं । नेपाल आयल निगमका कर्मचारीले पुरस्कारस्वरूप एक महिनाको तलब पाउने भएका छन् । निगम ५० वर्ष पुगेको अवसरमा कर्मचारीलाई प्रोत्साहन स्वरूप एक महिना बराबरको तलब दिने भएको हो ।
निगममा ८७२ जनाको दरबन्दी रहेकोमा हाल ६ सय जनामात्र कार्यरत रहेका छन । निगम कर्मचारीलाई अतिरिक्त एक महिनाको तलब बराबर ३ करोड रुपैयाँ खर्च हुनेछ ।
निगमको ५० औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा शनिबार उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले इन्धन कारोबारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि पेट्रोलियम ऐन ल्याउन लागिएको बताए । मन्त्री भट्टले वार्षिक खर्बौंरूपैयाँको कारोबार गर्ने इन्धनलाई व्यवस्थित गर्न पेट्रोलियम ऐन ल्याउन लागेको बताएका हुन् ।
निगमले वार्षिक झन्डै २ खर्बरूपैयाँ बराबरको पेट्रोलियम पदार्थको कारोबार भएपनि यसलाई नियमन गर्नका लागि अहिलेसम्म ऐन आउन सकेको छैन । “राष्ट्रिय सुरक्षाका दृष्टिले पनि पेट्रोलियम पदार्थ अति संवेदनशील रहेको यसको कारोबार निजी क्षेत्रलाई दिन हुन्न भन्ने मेरो मान्यता छ,” मन्त्री भट्टले भने, “यसलाई प्रतिस्पर्धामा जाने कि नजाने भन्ने सरकारको भूमिकामा रहन्छ ।”
आफ्नो कारोबारलाई चुस्त ढंगले अगाडि बढाउन आवश्यक रहेको भन्दै उनले निगमभित्र रहेका कमीकमजोरीलाई सुधार गर्दै जानुपर्ने मन्त्री भट्टको भनाइ छ ।
उद्योगी व्यवसायीलाई लगानी डुब्न नदिइ निगमले उद्योगलाई हरेक काममा साझेदार बनाएर अगाडि बढ्ने मन्त्री भट्टको भनाई छ । मुलुकमा ठूला आयोजना बन्न लागेकाले निगमले आफनो लगानी विस्तार गर्दै जानुपर्ने बताउँदै मन्त्री भट्टले तीन महिनालाई पुग्ने गरी इन्धन भन्डारणको लागि संरचना विस्तार गर्न लागिएको बताए ।
उद्योग,वाणिज्य तथा आपूर्तिसचिव डा. बैकुण्ठ अर्यालले इन्धन कारोबारमा एकाधिकार कायम रहेको निगमले लागत, समय र व्यवस्थापनमा दक्षता बढाउनु अति आवश्यक रहेको उनको भनाइ छ । व्यवसायीलाई लागतअनुसार मुनाफा आर्जन गर्ने बातावरण गराइदिन सरकार तयार रहेको भन्दै सचिव अर्यालले व्यवसायीले पनि व्यावसायिकता कायम राख्नुपर्ने धारणा राखे । अत्यावश्यक सेवालाई व्यवसायीले बन्द नगराएर समस्यालाई समस्यालाई समाधान गर्दै जानुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया