काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ६९ औं साधारणसभामा अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको व्यापारघाटा बढिरहे पनि राज्यले निर्यातकर्तालाई सुविधा दिन कन्जुस्याइँ गरिरहेको टिप्पणी गरे ।
अध्यक्ष श्रेष्ठको भनाइ थियो– निकासीमा अनुदान दिने व्यवस्था भारत, चीन लगायत अन्य मुलुकहरूमा प्रभावकारी छ, ति मुलुकमा कतिपय वस्तुमा १५ प्रतिशतसम्म अनुदान दिने गरे पनि नेपालमा हाल दिइरहेको अनुदानसमेत सहज रूपमा प्राप्त हुनसकेको छैन ।
प्रत्युत्तरमा अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीकै कारण निकासी अनुदानमा समस्या रहेको दावी गरे । अर्थमन्त्रीले भने, “व्यापारघाटा बढिरहेको छ, यसलाई कम गर्ने उपाय भनेको निर्यात प्रर्वद्धन नै हो तर व्यवसायीलाई अनुदान दिने विषयमा व्यवसायीमै दुईमत भएको मैले पाएको छु । कतिपय व्यवसायीहरू अनुदान दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । कतिपय साथीहरू दिनुहुन्न भन्ने पक्षमा हुनुहुन्छ । यो मैले कुरा बुझ्न सकिरहेको छैन ।”
कुनै व्यवसायीले निर्यात हाउसलाई अनुदान दिनुपर्छ भन्ने गरेको र अर्काथरीले उत्पादकलाई पो दिनुपर्छ भन्ने गरेको उनले बताए । “अब हामी उत्पादनको साधनमा जाने हो कि पुँजीमा जाने हो कि विद्युत्मा जाने हो भनेर यसमा अध्ययन गरिरहेका छौं,” अर्थमन्त्रीले भने, “उत्पादन वृद्धि र निर्यातमा जोड दिन अनुदान दिनु जरुरी छ तर व्यवसायीबाट साझा धारणा आएमा नीतिगत व्यवस्था गर्न सहज हुन्छ ।”
कार्यक्रममा उद्योग वाणिज्य आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उत्पादन वृद्धि, निर्यातमा जोड दिँदै व्यवसायीको मनोबल बढाउन आफूले काम गर्ने बताए ।
प्रतिक्रिया