काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समितिको पहिलो बैठक मंगलबार बस्दैछ ।
२०८१ चैत ११ मा गठन भएको समितिको नेतृत्वमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नै रहे पनि समितिका दुवै सदस्यहरु फेरिइसकेका छन् ।
समितिका तत्कालीन सदस्यहरु विजयनाथ भट्टराई र विश्व पौडेल दुवैले समिति सदस्य नियुक्तिको पत्र पाए पनि बैठकमा सहभागिता नै जनाउन पाएनन् ।
भट्टराईले बैठक नै नबोलाइएको भन्दै राजीनामा गरे भने पौडेललाई सत्तारुढ नेपाली कांग्रेसले गभर्नरका रुपमा अघि सारेपछि राजीनामा गरेका हुन् ।
हाल पूर्वगभर्नर भट्टराईको स्थानमा महाप्रसाद अधिकारी र अर्थशास्त्री पौडेलको स्थानमा पोषराज पाण्डेलाई ल्याइएको छ ।
समितिका संयोजक अर्थमन्त्री पौडेलले मंगलबारका लागि राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन् । समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
सिफारिस समितिले सत्ता गठबन्धनले गभर्नर बनाउन चाहेका व्यक्तिसहित एकजना डेपुटी गभर्नर र अर्का एकजना गरी तीन जनालाई सिफारिस गर्नेछ भने सोही सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्नेछ ।
मंगलबार नै मन्त्रिपरिाषद् बैठक बसेर गभर्नर नियुक्तिको तयारी भइरहेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच सघन वार्ता भएसँगै मुलुकले नयाँ गभर्नर पाउने पक्का भएको हो ।
नेपाल राष्ट्र बैंकमा चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ । कायममुकायम गभर्नरको जिम्मेवारी पाएकी डेपुटी गभर्नर नीलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकार गर्न इन्कार गरेसँगै गिजोलिएको गभर्नर नियुक्तिले सरकारकै शाख गिरेको छ ।
गभर्नरका लागि असान्दर्भिक र अप्रासंगिक नाम अघि सार्नेदेखि उमेर हद सच्याउने र त्यसविरुद्ध अदालतको ढोका चहार्नेसम्मका गतिविधिले यो नियुक्ति पेचिलो बनेको छ ।
सत्तारुढ दलहरुबीच गभर्नर नेपाली कांग्रेसले छनोट गरेको व्यक्ति हुने र त्यसमा सभापति देउवाले अघि सारेका अर्थशास्त्री डा. विश्व पौडेलको नियुक्ति हुने सम्भावना बढेको छ ।










प्रतिक्रिया