काठमाडौं । नेपाल सरकारले पाम आयल निकासी खुलाउन भारतलाई कुटनीतिक आग्रह गरेको छ । दक्षिण पूर्वी एसियाली राष्ट्रहरु मलेसिया, इन्डोनेसिया, थाइल्याण्डलगायतमा उत्पादन हुने पाम आयलमा भारतले नेपालबाट हुने निकासी पनि रोक लगाएको छ ।
पाम आयलमा भारतले प्रतिबन्ध लगाएसँगै एक दर्जन नेपाली घरानाको व्यापार ठप्प भएपछि सरकार दुरुपयोग भएको छ । तर, नेपाली किसानको उत्पादन जो नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) सूचीमा छन्, यीनको निकासीमा अवरोध हुँदा भने सरकारले यस्तो तदारुकता देखाउन सकेको छैन ।
पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल सुरु गरेको छ । नेपालका लागि कार्यवाहक भारतीय राजदूत अजय कुमारसँग मन्त्रालयले बिहीबार पाम आयल निर्यात गर्ने विषयमा विषयमा छलफल गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगड र मन्त्रालयका पदाधिकारीबीचमा छलफल भएको हो । मन्त्रालयका सहसचिव नवराज ढकालले पाम आयलको निर्यात खुलाउने विषयमा छलफल भएको जानकारी दिए । नेपालले अन्तर्राष्ट्रिय कानूनबमोजिम नै भारततर्फ पाम आयल निर्यात गरीरहेको उनले जानकारी दिए ।
छलफलमा स्वदेशी उद्योगले निर्यात गर्ने पाम आयल बल्कका रूपमा नभइ सानो परिमाणको प्याकेट र ३५ प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गर्दै आएको दावीसहित भारतीय पक्षलाई जानकारी गराइएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार भारतीय पक्षले यो विषयमा अध्ययन गरिरहको छ । प्रतिबन्धपछि भारतमा पाम आयलमा मूल्यवृद्धि भइरहेको छ । भारतीय पक्षले अध्ययन गरेर मात्र पाम आयल खोल्ने बताएको छ ।
निर्यात वस्तुहरूको संख्या बढाउन अध्ययन भइरहेको मन्त्रालयले जानकारी दिएको छ । पाम आयल निर्यातमा प्रतिबन्ध हटाइदिन हामी भारतीय अधिकारीसँग छलफलमा भइरहेको मन्त्रालयले जानकारी दिए । “अब हामी फरक तरिकाले सोच्ने बेला आएको छ,” सहसचिव ढकालले भने, “भारत हाम्रो लागि सधैं ठूलो बजार हो सोही बमोजिम वस्तु उत्पादन गरी निर्यातमा जोड दिनुपर्छ ।”
नेपाललाई सहुलियत दिन भारत तयार रहेको कार्यवाहक राजदुतले बताएपनि प्रक्रियामा केही समय लाग्ने जानकारी दिएका थिए । छलफल सकारात्मक रूपमा भइरहेपनि भारतले अरू देशबाट पनि पाम आयलको आयात बन्द गरेकाले खुलाउने विषयमा अध्ययन भइरहेको मन्त्रालयले जानकारी दिए ।
मलेसियाका लागि भारत पाम आयलको ठूलो बजार हो । भारतले यतिबेला मलेसियाबाट पनि आयात बन्द गरेको छ । तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गर्दै नेपाली उद्योगले भारतमा पाम आयल निर्यात गर्दै आएका थिए । अचानकको बन्देजले यस क्षेत्रमा रहेको ठूलो लगानी जोखिममा परेको भन्दै उद्योगीले सरकारलाई गुहारेका थिए ।
नेपालबाट निर्यात हुने वस्तुको करिब २५ प्रतिशत हिस्सा ओगट्न पाम आयलले ओगट्दै आएको थियो ।
प्रतिक्रिया