काठमाडौं । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वातावरण प्रदूषण नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयमात्र हिस्सेदार नरहने बताएकी छन् ।
बिहीबार विश्व वतावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्लाष्टिकजन्य प्रदूषणलाई न्यूनीकरण गर्न सजिलो नहुने भन्दै त्यसका लागि अन्तर मन्त्रालयको सहकार्य आवश्यक रहेको बताएकी हुन् ।
‘प्लाष्टिकजन्य प्रदूषणलाई न्यूनीकरण गर्ने क्रममा देख्दा सजिलो देखिन्छ तर त्यसको प्रभाव हेर्यो भने लामो समयसम्म रहन्छ’ उनले भनिन्, ‘प्रदूषण नियनत्रणका लागि सरकारको वन तथा वातावरण मन्त्रालयमात्र हिस्सेदार हो भन्ने कुरा अरु मन्त्रालयले भन्न मिल्दैन । त्यसकारण अन्तर मन्त्रालयको सहकार्य र समन्वय गर्न भूमिका निर्वाह गर्नुपर्छ ।’
उनले वन तथा वातावरण मन्त्रालय वातावरण संरक्षण र प्रवर्धनको विषयमा एकदमै गम्भीर रहेको पनि बताइन् ।
उनले प्लाष्टिकहरुको पुनःप्रयोग कमी नै हुने गरेको भन्दै प्लाष्टिकजन्य कुरालाई नियन्त्रण गर्न स्थानीय तहहरुमा उत्पादन भएका बाँसका सामाग्रीहरुको प्रयोग, काठका सामानहरुको प्रयोगमा जोड दिनुपर्ने बताइन् ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वातावरणका नाममा बन्दै गरेका विकासका काम बन्द गरिनु गलत भएको बताए । उनले विकास निर्माणको काम वातावरणलाई संरक्षण गर्दै गरिनुपर्ने बताए ।










प्रतिक्रिया