काठमाडौं । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई हालै बर्खास्त गरेका छन् । देशमा फैलँदो कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनी बर्खास्तीमा परेका हुन् ।
कोरोना नियन्त्रणका लागि राष्ट्रपतिको निर्देशनलाई पालना नगरेकोले उनलाई बर्खास्त गरिएको बताइएको छ । मन्त्रीले गरेको कतिपय कामप्रति बोल्सोनारोले केही समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए । उनले नयाँ स्वास्थ्य मन्त्रीमा नियुक्ति पनि गरिसकेका छन् ।
ब्राजिलमा हालसम्म २१७१ जनाको मृत्यु भएको छ भने ३४ हजार २२१ जना संक्रमित रहेका छन् ।
नेपालमा पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको योग्यता तथा क्षमतालाई लिएर विभिन्न टिप्पणीहरु भइरहेको छ । संसारभर कोरोना फैलिरहँदा नेपालले कुनै तयारी गरेको थिएन र उनका गैरजिम्मेवार टिप्पणीकै कारण अहिले कोरोना भयावह रुपमा फैलिरहेको भन्दै आलोचना भएको छ ।
भारत र चीनले राम्रो तयारी गरिरहेका कारण नेपालले कुनै तयारी गर्नुपर्दैन भन्ने उनको अभिव्यक्ति विवादित बनेको थियो । यससँगै चीनबाट मेडिकल सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
मन्त्री ढकालको क्षमताप्रति प्रतिपक्षी दल र नागरिक समाजमात्र नभइ पार्टीभित्रै प्रश्न उठेको छ । यद्यपि उनलाई प्रधानमन्त्री केपी ओलीले साथ दिइरहेका छन् ।
प्रतिक्रिया