अमेरिका (एजेन्सी): कोरोनाभाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन विश्वव्यापी लकडाउन भएसँगै पेट्रोलियम पदार्थको खपत घट्दा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । समाचारअनुसार अमेरिकी तेलको मूल्यमा ऋणात्मक प्रभाव पारेको छ ।
यता विश्व बजारमा कच्चा तेलको मूल्य ८.९ प्रतिशतले तल झर्दै प्रतिब्यारल २६ अमेरिकी डलर पुगेको छ । लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन् ।
बीबीसीका अनुसार अमेरिकी तेलको मूल्य पहिलो पटक यसरी घटेको हो । यसको अर्थ तेल उत्पादकहरूले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले उक्त पदार्थ लिन क्रेतालाई भुक्तानी दिइरहेका छन् । तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्यांकर भाडामा लिन थालेका छन् र यसले अमेरिकी तेलको मूल्यमा ऋणात्मक प्रभाव पारेको छ ।
अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमिडिएट (डब्ल्यूटीआई) को प्रतिब्यारल मूल्य –३७.६३ अमेरिकी डलरमा झरेको छ । तेलको कारोबार भविष्यको मूल्यका आधारमा गरिन्छ । मे महिनाका सम्झौताको म्याद मंगलवार सकिँदैछ र व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिनका लागि आफूसँग रहेको तेल बेच्न चाहन्थे ।
जुन महिनामा पनि वेस्ट टेक्सस इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य कम नै थियो। तर त्यति बेला पनि प्रतिब्यारल मूल्य २० अमेरिकी डलर थियो।
प्रतिक्रिया