काठमाडौं। सरकारले लैनचौरस्थित स्काउटका जगगामा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री दिपक खड्काका सामान जफत गर्ने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले बिहीबार सूचना जारी गर्दै नेपाल स्काउट को जग्गामा रहेको संरचना र सो संरचनामा रहेको मालसामान जफत गर्ने सम्बन्धमा ७ दिने सार्वजनिक सूचना सार्वजनिक गरेको छ।
काठमाडौँ महानगरपालिका साबिक वडा नं. २९ ( हाल का.म.न.पा. वडा नं. २६) लैनचौरस्थित कित्ता नं. १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलनका सम्बन्धमा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रा. लि. का बीचमा २०६५ सालमा सम्झौता भई १० वर्षका लागि जग्गा भाडामा लिई उक्त कम्पनीले भोग चलन गर्दै आएको सन्दर्भमा २०७५ सालदेखि सम्झौताको अवधि समाप्त भएको थियो ।
तर अवधि र पार्किङ लगायतका विषयमा विवाद उत्पन्न भई उजुरी परी सम्मानित काठमाडौँ जिल्ला अदालतले २०७६ खसार १८ मा गरेको फैसलाको आधारमा उक्त जग्गा, खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएको थियो ।
यसअघि सिलवन्दी पश्चात् पनि खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.ले भाडा चुक्ता गर्नुको साटो मुद्दा गरी पटक पटक मुद्दा हटाई बहाल चुक्ता नगरेकोले नेपाल स्काउटलाई अपुरणीय क्षति पुगेको कारण ७ दिनभित्र बहालको वक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको सूचना उल्लेख छ ।
सात दिनभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्का ल्यान्ड डेभलपमेन्ट प्रा. लि. बीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) २६२१ वमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा -समेत सूचनामा उल्लेख गरिएको छ ।










प्रतिक्रिया