काठमाडौं । लकडाउन सुरु हुनुअघि चर्को अभाव देखिएको एलपी ग्यास अहिले भने बिक्दै नबिक्दा अर्को संकट सुरु भएको छ । ग्यास उद्योगीहरुका अनुसार अहिले उनीहरुसँग १ अर्ब रुपैयाँ बराबरको ग्यास स्टक छ ।
अधिकांश उपभोक्ताले यसअघि नै होल्ड गरेको र खपत पनि घट्दा बजारमा खाना एलपी ग्यासको बिक्री ५० प्रतिशतले घटेको जनाइएको छ । लाखौं उपभोक्ताले सहरी क्षेत्र छाडेर गाउँतिर गएको तथा बढी खपत गर्ने होटल, रेष्टुरेन्ट र केही कारखानासमेत बन्द भएपछि खपत घटेको हो ।
मुलुकभित्र ग्यास खपत घटे पनि आयात भने घटेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै अहिले ‘पुस सेल’ भइरहेको छ । यद्यपि, अभाव हुने आंशकामा अधिकांश उपभोक्ताले ग्यास भरेर राखेका कारणले गर्दा पनि खपत आधाले घटेको छ ।
अहिले अधिकांश ग्यास उद्योगीसँग बिक्री नभएर होल्डमा राखिएको छ । उद्योगका प्लान्ट ग्यासले भरिभराउ छन् । सामान्य अवस्थामा मुलुकभर दैनिक एक लाख सिलिन्डर वितरणहुने गरेकोमा अहिले दैनिक ५० देखि ५५ हजार सिलिन्डर बजारमा पठाइने गरेको छ ।
अहिले ग्यास उद्योगको प्लान्ट र बुलेटमार्फत १३ हजार टन ग्यास मौज्जात रहेको छ । जसबाट ९ लाख १५ हजार ४ सय ९२ संख्यामा सिलिन्डर भरिन्छन् ।
प्रतिक्रिया