Logo

Banner-news

होस्टल व्यवसायीको चिन्ताः व्यवसाय छैन घर भाडा तिर्ने कसरी ?


GDP Nepal
   १८ बैशाख २०७७, बिहिबार


काठमाडौँ । कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले मुलुकभर लकडाउन लगाएसँगै साना तथा मझौला व्यवसायीमा मजदुरको तलब तथा घरभाडा मुख्य समस्याका रुपमा देखिएको छ । होस्टल व्यवसायीहरूले पनि यो अवधिमा व्यवसाय नहुँदा पनि घरभाडा तिर्नुपर्ने अवस्था आएको भन्दै सरकारसँग सहयोग माग गरेका छन् ।

नेपाल राष्ट्र बैङ्कले महामारीको कारण समस्यामा परेका व्यवसायको सूचिमा होस्टल व्यवसाय समावेश नगरेपछि अर्थमन्त्री डा। युवराज खतिवडा समक्ष नेपाल होस्टल एसोसिएसनले माग पत्र पेस गरेको हो ।

बिहीबार वैशाख १८ गते आफ्नो आठौँ वार्षिक उत्सव मनाइरहेको एसोसिएसनले सरकारलाई बुझाएको माग पत्रमा घर भाडा छुटको लागि सरकारबाट समन्वयको अपेक्षा गरिएको छ । अध्यक्ष भक्ति प्रसाद पाठक र महासचिव रुपाली पौडेलद्वारा हस्ताक्षरित सो पत्रमा लेखिएको छ, ‘व्यवसायीलाई सर्वाधिक गाह्रो परेको घर भाडा सम्बन्धी विषयमा राज्यको तर्फबाट आम होस्टल व्यवसायीका घरधनीलाई भाडा छुटको लागि सरकारद्वारा आव्हान गरिदिनुहुन समेत विशेष अनुरोध गर्न चाहन्छौ ।‘

त्यसै गरी, काठमाडौँ उपत्यका जस्तो महँगो सहरमा समेत औसतमा ८ हजार ५ सय मासिक शुल्क लिएर शैक्षिक वातावरण सहित गाँस र बासको व्यवस्था गर्ने क्रममा यो व्यवसायले लगभग नाफा रहित ढङ्गले सेवा प्रदान गर्दै आएको दाबी एसोसिएसनले गरेको छ ।

उक्त माग पत्रमा होस्टल व्यवसायलाई जोगाउन र यसले पुर्यावउँदै आएको सेवालाई पुनर्स्थापित गर्न सरकारले तयार गर्ने राहत उपलब्ध गराउनु पर्ने व्यवसायको सूचीमा होस्टल व्यवसायलाई समेत समावेश गर्न अनुरोध गरिएको छ । होस्टल व्यवसायलाई समेत सुलभ ऋण प्राप्त हुने व्यवस्थाका लागि अर्थमन्त्रीको सो माग पत्रमा ध्यानाकर्षण गराइएको छ ।

होस्टल व्यवसायीहरूले आफूलाई घर बहाल छुट दिने घरबेटीलाई समेत राज्यले असुल गर्ने कतिपय करमा छुट गरिदिन समेत सरकारसँग अनुरोध गरेको छ ।

यसैबिच, वार्षिकोत्सवको शुभकामना सन्देशदिंदै अध्यक्ष तथा महासचिवले आम होस्टल व्यवसायीलाई एकजुट हुन र सामूहिक शक्ति र एकताको बलमा सामुन्ने रहेका चुनौतीसँग जुध्न आव्हान गरेका छन् । व्यवसायीको हित रक्षाका लागि एसोसिएसन जस्तोसुकै निर्णय गर्न तयार रहेको भन्दै यो सङ्कटमा धैर्य धारण गर्न सो सन्देशमा ब्यवाशायिलाई आग्रह गरिएको छ ।

देशभर १२ सय भन्दा बढी होस्टल रहेका छन् । होस्टलमा व्यवशायीहरुको सवा अर्व भन्दा बढी लगानी रहेको छ । यसले ६० हजार भन्दा बढी सेवाग्राहीलाई सुलभ आवास र खानपानको व्यवस्था गर्दै आएको एसोसिएसनले जनाएको छ । यो ब्यवाशायले १० हजार भन्दा बढीलाई रोजगारको अवसर समेत प्रदान गरेको एसोसिएसनको दाबी रहेको छ ।

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह