Logo

बिजनेस होम

विश्वप्रसिद्ध होटल चेन म्यारियट अब लुम्बिनीमा: ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रुपमा विकसित हुने



GDP नेपाल
   २४ पुस २०८२, बिहिबार


काठमाडौं । विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनल अब लुम्बिनीमा विस्तार हुने भएको छ । रुपन्देहीको सियारीमा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र म्यारियट इन्टरनेशनलबीच व्यवस्थापन सम्झौता समेत भएको छ ।


सम्झौतासँगै रिसोर्ट अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’को ब्रान्ड नाममा स्तरोन्नति भइ संचालन हुने सम्झौतापछिको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका बाहिर म्यारियट इन्टरनेशनलको यो पहिलो उपस्थिति हो ।


रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन (सङ्गीतमय फोहोरा), थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ र मिनी क्रुजको सुविधा उपलब्ध हुनेछ । साथै, नेपालमै पहिलो पटक ‘वाटर रेस्टुरेन्ट’ र ‘वाटर स्पा’ को पनि अवधारणा ल्याइने उल्लेख गरिएको छ ।
रिसोर्ट नेपालकै पहिलो ‘अर्गानिक फाइभ–स्टार वेलनेस लक्जरी रिसोर्ट’ हुनेछ, जसले प्राकृतिक चिकित्सा (नेचुरोथेरापी) र दिगो स्वास्थ्यलाई प्रवद्र्धन गर्नेछ । रिसोर्टले वातावरण संरक्षण, ऊर्जा बचत र दिगो विकासका अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको गरिमालाई सम्मान गर्दै रिसोर्ट परिसरमा ‘बुद्ध थिम पार्क’ निर्माण गरिने विज्ञप्तिमा उल्लेख छ । साथै स्पोर्ट टुरिजमलाई पनि प्राथमिकता दिइनेछ ।
रिसोर्टले अन्तर्राष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्न विजयनान्मारन सन्मुगमलाई सञ्चालन तथा सम्पत्ति विकास उपाध्यक्षमा नियुक्त समेत गरिएको छ ।

सम्झौता कार्यक्रममा रिसोर्टका तर्फबाट अध्यक्ष दीपक पाण्डे र प्रबन्ध निर्देशक रोशन कुमार न्यौपानेको उपस्थिति थियो । साथै, म्यारियट इन्टरनेशनलका तर्फबाट एशिया प्रशान्त क्षेत्रका प्रमुख सञ्चालन अधिकृत नीरज गोविन्द लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

रिसोर्टले चालू आर्थिक वर्षको अन्त्यसम्ममा आधिकारिक पाँचतारे इजाजतपत्र प्राप्त गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : २४ पुस २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह