काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीकी ज्योत्सना सैँजू उम्मेदवार बनेकी छिन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रहेकी सैँजू काभ्रे २ बाट उम्मेदवार बनेकी हुन् ।
कम्प्युटर इन्जिनियर रहेकी उनी पेशाले भने होटल व्यवसायी हुन् । लामो समयदेखि धुलिखेलमा माउण्ट प्रिन्सेस होटल सञ्चालन गरिरहेकी उनी युवा व्यवसायी हुन् । युवा उद्यमी मञ्च (एनवाईइएफ) काभ्रे च्याप्टरको निवर्तमान अध्यक्षसमेत रहेकी उनी जम्मा ४१ वर्षकी मात्रै भइन् ।
उत्पादन, रोजगारी, लगानीमैत्री वातावरण र सुशासनका एजेण्डासहित उम्मेदवारी दर्ता गराएकी सैँजू होटल एसोसियशन अफ नेपाल ९हान० काभ्रेकी उपाध्यक्ष पनि हुन् । महिला उद्यमी संघ काभ्रेकी अध्यक्षसमेत रहेकी उनी युवा उमेरमै रोजगारदाताका रुपमा काम गरिरहेकी जुझारु व्यक्तिका रुपमा चिनिन्छिन् ।
उनले आफू व्यवसायमा आवद्ध भएको र विगतदेखि नै व्यवसायिक वातावरण निर्माणमा सरोकारवालासँग छलफल गर्दै आएको स्मरण गर्दै कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा काभ्रेलाई उत्कृष्ट जिल्लाका रुपमा चिनाउने काममा आफू प्रतिवद्ध भएर लाग्ने समेत बताइन् । ‘किसानले समयमै मल र बिऊ पाउँदैनन्, किसानले दुःख गरेर फलाएका कृषि उत्पादनहरुले उचित बजार नपाएको मैले देखेको छु, काउली, बन्दा र गोलभेडा लटरम्म फलेका खेत बारीमा किसानले आँशु बगाउँदै डोजर लगाएको मैले देखेकी छु’ उनी भन्छिन्, ‘यी तमाम समस्या आफ्नै आँखाले देखेको हुनाले यी समस्याको नीतिगत रुपमै समाधान खोज्नका लागि म राजनीतिमा आएको हुँ ।’
उनले धुलिखेल नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको र यस ठाउँको अन्तर्राष्ट्रिय प्रवद्र्धनसमेत गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् । रोटरी क्लब धुलिखेलकी निवर्तमान अध्यक्षसमेत रहेकी उनले भनिन्, ‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरुमा काभ्रेको प्रवद्र्धनका लागि पहिल्यैदेखि भूमीका खेल्दै आएको छु । अब यस क्षेत्रका जनताको विश्वास र मतबाट अझ बढी योगदान दिने हुटहुटी बोकेर म चुनावी मैदानमा आएको छु । मलाई विश्वास छ, यस क्षेत्रका सबै वर्ग र समुदायले मलाई मतदान गरेर विजयी गराउनु हुनेछ ।’
उनले आफू व्यवसायमा स्थापित भएर राजनीतिमा आएको हुनाले राजनीतिबाट कुनै पनि प्रकारको व्यवसायिक लाभ लिने उदेश्य नबोकेको पनि स्पष्ट पारिन् ।
‘कमाउनका लागि त मैले व्यवसाय गरेकै छु, मलाई बोल्नका लागि मञ्चको अभाव पनि होइन’ सैँजूले भनिन्, ‘तर, युवाहरुको भावना, उनीहरुको सोचाई र उनीहरुले देख्न चाहेको समृद्ध र आत्मनिर्भर नेपाल आजको मुख्य एजेण्डा हो । जेन् जी आन्दोलनले यो कुरा स्पष्टसँग देखाइ सकेको छ । अब डेलिभरी दिन पनि युवा पुस्ताकै नेतृत्व चाहिन्छ भन्ने सबैको चाहना भएपछि म पनि मैदानमा आएको हुँ ।’










प्रतिक्रिया