काठमाडौं । सरकारले चालू आर्थिक वर्ष अर्थात २०७७–७८ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिएको छ । जेठ १५ मा आएको बजेटले तोकेको यो लक्ष्य पूरा हुन सम्भव रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बारम्बार दावी गर्दै आएका छन् ।
तर, नेपालको प्रमुख विकास साझेदार विश्व बैंकले यस वर्ष २.१ प्रतिशत मात्र आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ । रोचक पक्ष त के छ भने यो प्रतिवेदन अर्थमन्त्री खतिवडाले नै सार्वजनिक गरेका छन् ।
आफ्नो नीतिको बचाउका लागि कुतर्क गर्नसमेत पछि नपर्ने र आफ्ना आलोचकलाई उठ्नै नसक्नेगरी प्रहार गर्ने स्वभावका अर्थमन्त्री खतिवडा विश्व बैंकसामु भने निरीह सावित भएका छन् । विश्व बैंकले जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदन आफैं सार्वजनिक गरेर उनले दातासामु आफ्नो र मुलुकको लाचारी प्रस्तुत गरेका छन् ।
यद्यपि, खतिवडाले सोही कार्यक्रममा पनि लक्षित आर्थिक वृद्धि हासिल हुने दावी गर्न भने छाडेनन् । तर विश्व बैंकसामु आफ्नो आदर्श र विद्वता नै समर्पण गरेका खतिवडाको यस्तो दावीलाई न विश्व बैंकले कुनै महत्व दियो, न मिडियाले नै ।
त्यसो त खतिवडाले सात प्रतिशतको आर्थिक वृद्धि हासिल हुन्छ भनेको विषयलाई मुलुकभित्र पनि कसैले गम्भीरतापूर्वक लिएका छैनन् । लक्ष्य माथिल्लो तहकै राख्नुपर्छ भन्ने मान्यताका पक्षपातीले यसलाई स्वाभाविक भने पनि वास्तविक रुपमा हासिल हुनसक्ने आर्थिक वृद्धि भने विश्व बैंकले प्रक्षेपण गरेभन्दा माथि नै हुनसक्ने अर्थशास्त्रीहरुको आकलन छ ।
खतिवडा आफ्ना आलोचक र उनको बिचारसँग सहमत नहुनेहरुप्रति कठोर र अनुदार छन् । आलोचकका कुरा नै नसुन्ने र सत्ताको दुरुपयोग गर्दै उनीहरुलाई क्षति पु¥याउने निर्णय गर्न पनि खतिवडाको स्वाभाव शास्त्रीय कम्युनिष्टहरुको जस्तै छ ।
खतिवडाको अनुदार चरित्रकै कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ठूलो क्षति बेहोरिसकेको छ । पार्टीभित्रको अन्तरविरोधका एउटा कारण खतिवडा पनि हुन् । हालको नेकपा विवादमा उनको विषय ओझेलमा परे पनि पार्टीभित्र अन्तरविरोध चर्कंदै जानु र सरकारको बढी आलोचना हुनुको कारण खतिवडाको स्वाभाव र कार्यशैली पनि हो ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वाद पाएसम्म उनको भूमिका र प्रभाव घटेको छैन । बरु सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सरकारको प्रवक्ताको समेत जिम्मेवारी उनीमाथि थपिएको छ ।
आफ्ना आलोचकमाथि गोकुल बाँस्कोटाभन्दा पनि कठोर रुपमा प्रस्तुत हुने खतिवडा विश्व बैंकसामु भने निरीह देखिएको दृश्यले धेरै सांकेतिक अर्थ राखेको छ । खतिवडा विश्व बैंकजस्तै बहुराष्ट्रिय दातृ निकायबाट ‘ग्रुम’ भएका व्यक्ति हुन् । उनको राजनीतिक र प्राज्ञिक पृष्ठभूमि भने नेपालको माटो सुहाउँदो नभएको भन्दै आलोचना भइरहेको छ ।
बिहीबारको प्रतिवेदनमा भने विश्व बैंकले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ र त्यसको संक्रमणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट समस्यामा परेको अर्थतन्त्रलाई थप आर्थिक गिरावटवाट जोगाउन सरकारले चालेका प्रयत्नका वावजुद चालू आर्थिक वर्ष २०७७–७८को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ ।
देशको अर्थतन्त्रलाई संक्रमणको अस्थिरताबाट राहतको चरण हुँदै पुनर्संरचना मार्फत पुनर्उत्थानशीलता तिर डोर्याउँदै दीगो र समावेशी वृद्धिको पथमा पुर्याउन सरकारले रणनैतिक योजना बनाएर अघि बढ्नुपर्ने बैंकको सुझाव छ ।
प्रतिक्रिया