Logo

Banner-news

राष्ट्र बैंकको रिपोर्टले स्वदेशी सिमेन्ट उद्योगीलाई धक्का, एफडीआई अझै आवश्यक !


GDP Nepal
   ७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले मुलुकको सिमेन्ट उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी अझै आवश्यक रहेको देखाएको छ । निजी क्षेत्रले स्वदेशी लगानी नै पर्याप्त रहेको भन्दै एफडीआई आवश्यक नरहेको भन्दै लबिङ गरिरहेका बेला राष्ट्र बैंकको यस्तो निष्कर्षसहित प्रतिवेदन सार्वजनिक भएको हो ।

सरकारद्वारा सञ्चालित तथा स्वदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगको तुलनामा एफडीआईमार्फत सञ्चालित उद्योगको उत्पादन लागत न्यून र उत्पादन क्षमता उच्च रहेको भन्दै केन्द्रीय बैंकले थप उद्योग स्थापना आवश्यक रहेको जनाएको छ ।

यद्यपि, नेपालमा रहेका ५५ उद्योगको जडित क्षमता भने नेपालमा सिमेन्टको मागभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ । तर, स्वदेशी उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा वार्षिक १५ लाख ६० हजार टन सिमेन्ट आयात हुने गरेको छ ।

केन्द्रीय बैंकले सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको जनाएको छ ।

“विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ, मुलुकभित्रैसिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही बर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ,” प्रतिवेदनमा भनिएको छ, “स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ । नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने देखिन्छ ।”

नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगहरुमध्ये ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका रहेका छन् । लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वाहुल्यता रहेको छ ।

नेपालमा विशेषतः प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी माग र आपूर्ति लगायत ती उद्योगहरुको सामाजिक तथा आर्थिक प्रभाव संलग्न गरी अध्ययन गरिएको हो ।

अध्ययनमा विदेशी लगानी रहेका ३, सरकारी स्वामित्व र निजी स्वामित्व रहेको क्रमशः २, २ गरी ७ उद्योगहरुलाई समेटिएको थियो ।

अध्ययन अनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ ।

यसैगरी, आन्तरिक रुपमा यी उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने१५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ । प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ ।

सामाजिक तथा आर्थिक पाटोलाई विश्लेषण गर्दा सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएको जनाइएको छ ।

उद्योग वरिपरि रहेकाजमीनको मूल्य वृद्धिका कारण वेल्थ इफेक्ट लगायतका सकारात्मक प्रभावहरु परेको भएतापनि वातावरणीय प्रदुषण सम्वन्धी नकारात्मक असर पनि परेको छ ।

सिमेन्ट उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह