Logo

Banner-news

ओलीको अहंकार चुलिँदो, एकपछि अर्काे मूल्य चुकाउँदै एमाले !


GDP Nepal
   ३० जेष्ठ २०७८, आइतबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको अन्तरसंघर्ष चुलिँदै जाँदा पार्टीले एकपछि अर्को क्षति बेहोर्न थालेको छ ।

बागमती र लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पराजीत एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व पनि गुमाएको छ । एमालेभित्रको अन्तरसंघर्षकै कारण गण्डकीको नेतृत्व गर्ने अवसर नेपाली कांग्रेसले पाएको छ भने कर्णाली प्रदेश र प्रदेश २ मा पनि कांग्रेस सत्ता साझेदारी गर्ने अवस्थामा पुगेको छ ।

एमालेले भने संघीय सरकारमा पनि बहुमत गुमाएर संसद् विघटनको स्थितिसम्म पुगिसकेको छ र यो विषय अहिले अदालतमा विचाराधीन छ । एमाले नेतृत्व रहेका लुम्बिनी, बागमती र प्रदेश १ सरकारको भविष्य पनि अनिश्चित देखिन्छ ।

एमालेभित्र मध्यमार्गी भनिएका नेता योगेश भट्टराईले पार्टीले व्यहोरिरहेको क्षतिका सम्बन्धमा शनिबार सामाजिक सञ्जालमा लेखेका छन्– नेताहरुको अहंकार र शक्तिको टकरावमा कति पृथ्वी सुब्बाहरु पिल्सीनु पर्ने हो ? इन्द्रलाल सापकोटा र विष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भइरहनु पर्ने हो ? सबै प्रदेशमा दलका काम कार्वाहीको पुनः संरचना गर्न ढिला नगरौं !

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका दिन भट्टराईको यो अभिव्यक्तिले एमालेभित्रको अवस्था देखाउँछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण एमालेले देशव्यापी यो क्षति व्यहोरिइरहेको बुझ्न कठिन छैन । ओलीको अहंकारका कारण माधव नेपाल–झलनाथ खनाल समूह संस्थापन पक्षसँग मिल्नै नसक्नेगरी टाढा भइरहेका छन् भने भट्टराई लगायत मध्यमार्गी भनिएका नेताहरुको प्रयास पनि व्यर्थ भइरहेको छ ।

सर्वोच्च अदालतले एमालेमा पुनर्मिलनका लागि बाटो खोलिदिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले एमालेको महाधिवेशन आयोजक कमिटिले गरेको कारबाही पार्टी विधान प्रतिकूल रहेको फैसला गरेर पुरानै कमिटि ब्युँताउन आधार दिएको छ ।

तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली जस्तोसुकै क्षति बेहोर्नु परे पनि नेपाल–खनाल समूहलाई भित्र्याउन तयार देखिँदैनन् । बरु राष्ट्रिय राजनीतिमा कुनै अस्तित्व नभएको पूर्व माओवादीको बादल गुट र विवादास्पद मधेशी नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो समूहलाई काँधमा बोक्न उद्यत छन् ।

ओलीकै कारण एमालेले एकपछि अर्को क्षति बेहोर्दै जाँदा पनि उनी निकट भनिएकाहरुले उनलाई सच्याउन सकेका छैनन् र बरु ओलीका हर्कतहरुको बचाउ कुतर्कका माध्यमले गर्ने गरेको देखिन्छ ।

प्रकाशित : ३० जेष्ठ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह