Logo

Banner-news

आर्थिक श्वेतपत्र: अर्थमन्त्रीको रहर मात्र हो कि राजनीतिक प्रतिशोध ?


GDP Nepal
   २ श्रावण २०७८, शनिबार


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेसँगै यसका विषयमा विभिन्न टिप्पणी भइरहेका छन् । पदभार ग्रहणपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर शुक्रबार मन्त्री शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका हुन् ।

केपी ओली सरकारका पहिलो अर्थमन्त्री डा. युवराज खतिवडाले तथ्य र तथ्यांकहरुलाई तोडमोड गर्दै जारी गरेको श्वेतपत्रको अहिलेसम्म आलोचना भइरहेको पृष्ठभूमिमा अर्थमन्त्री शर्माले पनि श्वेतत्रपत्र ल्याउने घोषणा गरेसँगै यसकै पुनरावृत्ति हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।

श्वेतपत्र आवश्यक हो वा होइन भन्नेमा विज्ञहरुकै मत बाझिएको देखिन्छ । पूर्वअर्थमन्त्री समेत रहिसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी श्वेतपत्र सार्वजनिक गर्ने तयारीको विरोधमा छन् ।

लोहनी भन्छन्, “वर्तमान सरकारले स्वेतपत्र जारी गर्ने भन्ने पढियो । अहिलेको बेलामा स्वेत पत्र जारी गर्ने राजनीतिक चक्करमा पर्नुभन्दा पौडेल बजेटको राम्रो कुरा लागू गर्दै संशोधन गर्न पर्ने बुँदा भए संसदमा जानु राम्रो हो । विगतको स्वेतपत्र को इतिहास हेर्दा यो सिर्फ कर्मचारीले मन्त्रीलाई खुसी पार्ने प्रयास र राजनैतिक फुर्ति गर्ने कुरोमा सीमित भएको देखिएको छ । अहिले जनतालाई फुर्ति होइन इमान्दारीपूर्वक काम चाहिएको छ ।”

पूर्व सचिव मधुरमण आचार्य पनि अहिले श्वेतपत्रको आवश्यकता नदेखिएको तर्क गर्छन् ।

आचार्य लेख्छन्, “व्यवस्था नै फेरिएजस्तो गरेर अर्थ मन्त्री फेरिएपिच्छे श्वेत पत्र जारी गर्नु गलत अभ्यास हो । पुरानाको कमजोरी देखाउनेतिर लाग्दा अर्थतन्त्रका कमजोरी सरकारी पक्षले स्वीकार गरेपछि लगानीकर्ता भड्किने खतरा हुन्छ । पहिलेकाले पनि लगानीयोग्य वातावरण नभएको भनेर श्वेतपत्र जारी गरेका थिए !”

अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी श्वेतपत्रका सम्बन्धमा धारणा राख्दै सामाजिक सञ्जाल ट्वीटरमा लेख्छन्, “श्वेतपत्र ल्याउने कुरा ठिक हो, मैले पहिलेदेखि महामारीलाई केन्द्रबिन्दुमा राखेर यस्तो जानकारी पत्र ल्याउन सरकारलाई भन्दै आएको थिएं पनि । तर यसले अर्थतन्त्रका सकारात्मक र नकारात्मक पक्षका साथै संभावित अवसरको ऐना पनि छर्लगं देखाउन सक्नु पर्छ ।”

डा. अधिकारी अगाडि लेख्छन्, “श्वेतपत्र भनेको अवस्थाको तथ्य र सुचना सहितको यथार्थ प्रस्तुति हो, यसको नाम अन्य पनि हुन सक्छ, तसर्थ श्वेतपत्र ल्याउंदा राजनीतिक आग्रहपूर्वाग्रह राखिनु हुंदैन, तथ्यको तोडमोड पनि गर्नु हुंदैन, प्रस्तुति वैज्ञानिक हुनु पर्छ । भोलकिो बाटोको पनि संकेत गर्नु पर्दछ ।”

यसअघि सिंहदरबारस्थित अर्थमन्त्रायलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भने ।

सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता उल्लेख गर्दै सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उनले बताए ।

अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेको बताए ।

अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै निर्णय गर्ने उनले बताए ।

प्रकाशित : २ श्रावण २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह