Logo

Banner-news

व्यवसायीद्वारा ‘एक प्यान, एक खोप’ नीतिको माग


GDP Nepal
   ३० श्रावण २०७८, शनिबार


काठमाडौं । उद्योगी व्यवसायीलाई प्राथमिकताका आधारमा खोप उपलब्ध गराउन माग गर्दै आएको निजी क्षेत्रले एक प्यान, एक खोप नीतिको माग गरेको छ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंको दोस्रो वार्षिक साधारणसभामा अध्यक्ष दिनेश श्रेष्ठले ‘एक प्यान, एक खोप’ नीति अघि सार्न सरकारसँग माग गरेका हुन् ।

एक प्यान, एक खोप नीतिले अर्थतन्त्र जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले विगत दुई वर्षदेखि कोरोना महामारीका कारण थालिएका लघु घरेलु तथा साना उद्योग व्यवसायीहरु धेरै नै विस्थापित भइसकेको र विस्थापित हुने क्रम जारी रहेको बताए ।

नवगठित सरकारले जारी गर्न लागेको परिमार्जित बजेटले थलिएको उद्योग व्यवसाय लाई विशेष ध्यानमा राखी उचित राहतका प्याकेज ल्याउनु पर्ने माग गर्दैै श्रेष्ठले कर, राजस्व तथा मूल्य अभिवृद्धि करको दर लाई कम गर्नु पर्नेमा विशेष ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक क्षेत्रसँग सम्बन्धित ऐन बनाउँदा निजी क्षेत्रलाई सहभागी गराइने प्रतिबद्धता जनाए । साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आगामी दिनमा राज्यले बनाउने नीति तथा ऐन कानुनहरु निजी क्षेत्रसँगको समन्वय र सहकार्यकै आधारमा निर्माण गरिने बताएका हुन् ।

मन्त्री शर्माले उद्योगी व्यवसायीको लागि सहज रुपमा कोरोना खोपको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाएका छन् । उनले कोरोना महामारीका कारण समग्र उद्योग व्यवसायमा परेको असर बारे सरकार गम्भीर रहेको र थालिएको अर्थतन्त्रलाई उकास्न विशेष पहल गर्ने प्रतिवद्धता जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिडपछिको पुनरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै त्यो सकारात्मक भएको टिप्पणी गरे । उनले सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभए पनि सुधारमा सहयोगी रहेको बताए ।

महासंघ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य संघ काठमाडौँलाई नेपाल उद्योग वाणिज्य महासंघकै तदारुकतामा र विशेष परिस्थितिमा गठन गरेको स्मरण गराउँदै संघ लाई अझ क्रियाशिल बनाएर लानु पर्नेमा जोड दिए ।

प्रकाशित : ३० श्रावण २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह