Logo

कर्पोरेट-बजार

अटो व्यवसायीलाई अर्थमन्त्रीको आग्रहः गाडी आयात हैन उत्पादनमा लाग्नुस् !


GDP Nepal
   २२ मंसिर २०७८, बुधबार


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गाडी आयात नभै उत्पादनमा लाग्न अटोमोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । व्यवसायीहरुले गाडी आयात घटाएर व्यापारघाटा कम गर्न सहयोग पु¥याउनुपर्ने मन्त्री शर्माको भनाइ छ ।

नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालकै ४५ औं वार्षिक साधारणसभामा मन्त्री शर्माले राजस्वमा नेपालमै गाडी उत्पादनका लागि नीतिगत समस्या भएमा त्यसलाई सम्बोधन गर्न सरकार तयार रहेको प्रतिवद्धता जनाए ।

अटोमोबाइल क्षेत्रबाट कूल राजस्वमा २५ प्रतिशत योगदान रहेको व्यवसायीहरुको दावीलाई अस्वीकार गर्दै मन्त्री शर्माले यसलाई आफूले ५० प्रतिशत पु¥याउन चाहेको तर आयातबाट नभै उत्पादनबाट राजस्व बढाउन खोजेको बताए ।

यद्यपि, गाडी आयातलाई प्रतिबन्ध लगाउने पक्षमा भने उनी देखिएनन् । उनले भने, “आयातमा प्रतिबन्ध लगाउनुभन्दा पनि स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनेतर्फ केन्द्रित हुनु जरुरी छ ।”

मन्त्री शर्माले विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने र पेट्रोलपम्पहरुलाई चार्जिङ स्टेशनले प्रतिस्थापन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नीतिगत स्थिरता भएमा नेपालमै सवारीसाधन उत्पादन गरी उद्योग स्थापना गर्न सकिने बताए । “अटोमोबाइल कम्पनीहरु उद्योग स्थापना गर्न तयार हुनुहुन्छ तर सरकारले नीतिगत रुपमा स्पष्ट र स्थिर हुनु जरुरी छ,” अध्यक्ष दुलालले भने । स्वदेशमै गाडी उत्पादन गरेर व्यापार घाटालाई कम गर्न सकिने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमै गाडी उत्पादनको लागि पनि सरकारले सहयोग गर्नु पर्ने बताउँदै उद्योग स्थापना हुँदा रोजगारी र विद्युत् खपत बढ्ने बताए ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह