काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीलाई पूर्णतः अवैध भन्दै कारोबार गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
केन्द्रीय बैंकले भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने जनाएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा हालैका दिनमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी कारोबार बढेको यस्ता करेन्सीको हाइपर फन्डजस्ता कोषमा लगानी नगर्न चेतावनी दिएको छ ।
भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीले नेपालमा कानुनी मान्यता नपाएको स्मरण गराउँदै यस प्रकारका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने केन्द्रीय बैंकको भनाइ छ ।
यस्तै, केन्द्रीय बैंकले जोसियल, क्राउड वान्, सोलम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङमामा आबद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको भन्दै यसलाई पनि रोक्न भनेको छ ।
प्रतिक्रिया