Logo

कर्पोरेट-बजार

बिमा कम्पनीलाई मर्जरमा जान सिलवालको निर्देशन, भन्छन्ः जोखिम बहन क्षमता कम भयो !


GDP Nepal
   २३ फाल्गुन २०७८, सोमबार


काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले बिमा कम्पनीहरुबीच मर्जर अपरिहार्य रहेको बताएका छन् ।

नयाँ बिमा कम्पनी थप्नुहुन्न भन्ने कम्पनीहरुको मागमा आफू पनि सहमत रहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “तर, तपाइँहरुको पुँजीको साइज हेर्नुस्, यति पुँजीले कसरी जोखिम बहन गर्न सक्नुहुन्छ ?”

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई)द्वारा आयोजित दुई नयाँ प्रडक्ट सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष सिलवालले बिमा कम्पनीहरुले दावी भुक्तानी समयमै नगरिदिँदा बिमाप्रति नै विकर्षण पैदा भएको धारणा राखे ।

अध्यक्ष सिलवालले बिमा कम्पनीहरुले व्यवसायको साइज बढाउन बिमितहरुलाई पर्याप्त सूचना र शर्तको जानकारी बिना नै बिमा गर्ने गरेको र दावी भुक्तानीका बेला यसले झमेला सिर्जना गर्ने गरेको बताए ।

दावी भुक्तानी समयमै हुनुपर्नेमा जोड दिँदै अध्यक्ष सिलवालले भने, “कानुनमा ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने चलन भएजस्तै बिमामा पनि ढिलो भुक्तानी दिनु भनेको नदिनू सरह हो भन्ने मान्यता स्थापित गर्नु जरुरी छ ।”

सिलवालले मर्जर अभियानको नेतृत्व गर्न आईजीआईलाई आग्रह गरे ।

कार्यक्रममा आईजीआईका अध्यक्ष हेमराज ढकालले समिति आफूहरुको अभिभावक भएको र आफूहरुलाई समितिबाट प्राप्त निर्देशनअनुसार सधैँ सुधारको पक्षमा रहेको बताए ।

अध्यक्ष ढकालले बिमा कम्पनीहरुलाई लगानीका क्षेत्र र सीमा खुकुलो बनाउनु पर्ने र मर्जरका लागि नीतिगत सुधार गरिनुपर्ने ध्यानाकर्षण गराए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बिमा समितिले सम्पूर्ण बिमा क्षेत्रको विकास र विस्तारमा अभियान सञ्चालन गरेकोप्रति प्रसन्नता व्यक्त गर्दै आउँदा दिनमा व्यावहारिक नीति ल्याउन सुझाव दिए । उनले लगानीको सीमा र क्षेत्रमा पुनर्विचार गर्न पनि आग्रह गरे ।

कार्यक्रममा आईजीआईले ल्याएको आइजिआई हेल्थप्लस बीमालेख र आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजनाको बारेमा जानकारी गराइएको थियो ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह