Logo

बिजनेस होम

नेपाल-भारत मैत्री धर्मशाला छापामार शैलीमा सिल गर्ने मन्त्री आलेको योजना !


GDP Nepal
   १६ चैत्र २०७८, बुधबार


काठमाडौं । ‘स्टन्ट मन्त्री’का रुपमा नाम कमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला बतास समूहबाट खोस्ने निर्णय गरेका छन् । मन्त्रालयको उच्च स्रोतका अनुसार सोमबार मन्त्री आलेको समेत उपस्थितिमा बसेको पशुपति विकास कोषको बैठकले यस्तो निर्णय गरेको हो ।

बुधबार बेलुकी मात्रै जिल्ला प्रसासन कार्यालयलाई प्रहरी सहयोगको निमित्त पत्र लेख्ने र बिहीबार बिहानै १० बजे बतासलाई सम्झौता भंग भएको लिखित जानकारी दिने योजना रहेको स्रोतले जनाएको छ । त्यसलगत्तै धर्मशालाको मूल गेटमा ताला लगाएर सिल गर्ने र विभिन्न मिडिया बोलाएर स्टन्ट गर्ने उनको योजना रहेको जनाइएको छ।

ताला लगाएर केही समयपछि सो धर्मशाला सञ्चालनको जिम्मा नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई दिने समेत उनको कार्य योजनामा रहेको बुझिएको छ ।

मन्त्री आलेले कोषको निर्णय र आफ्नो योजनालाई अत्यन्तै गोप्य राख्न निर्देशन दिएका छन् । बैठकमा सहभागी सबैलाई निर्णय गोप्य राख्न निर्देशन नै दिइएको थियो ।

अदालतलाई नै चुनौती
मन्त्री आलेले बतास समूहले उच्च र सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ भन्ने थाहा हुँदाहुँदै यस्तो निर्णय गर्नुलाई अदालतको मानहानिका रूपमा समेत व्याख्या गर्न सकिने अवस्था देखिन्छ । उनले न्यायालयलाई समेत चुनौती हुने गरी सम्झौता रद्द गर्ने तयारी यस अघि नै गरेका थिए । आलेको त्यो चालबाजी बुझेर नै ३५ दिने म्याद सहित जवाफ पठाउन भनी मन्त्रालयले लेखेको पत्रको जवाफ बतास समूहले दिएको थिएन ।

आफूहरू मन्त्रालय र पशुपति विकास कोषका विरुद्ध अदालतमा गएको र उच्च अदालतमा मुद्दा विचाराधीन नै रहेकोले आफूहरूले जवाफ नपठाएको बतास समूहको भनाई छ । अदालतले दिएको अल्पकालीन अन्तरिम आदेश र त्यसपछिको आदेशले समेत त्यस्तो प्रकारको स्पष्टीकरण बतास समूहले दिनु नपर्ने आशयको नै निर्णय समेत गरेको छ ।

पछिल्लो समय आफ्नै पार्टीको शीर्ष नेतृत्वले आफूमाथि वक्र दृष्टि लगाएको महसुस गरेका आलेले चुनावको मुखमा आफूलाई चर्चाको केन्द्रमा राख्न यस्तो निर्णय गराएको सो निर्णय प्रक्रियामा समेत सहभागी भएका एक जिम्मेवार पदाधिकारीले बताए ।

आफूहरूले अदालतमा विचाराधीन विषयमा यसरी निर्णय गर्नु कानुनी रूपमा समेत नाजायज ठहर्ने भन्दै तर्क राखेको तर मन्त्रीले भने दबाब दिएर सम्झौता भङ्ग गर्ने र धर्मशालामा सिल गर्ने आफ्नो योजनालाई नबिगार्न भनेपछि त्यस्तो निर्णय भएको उनले जानकारी दिए ।

यतिका दिनसम्म चुप बसेर फेरी हठात् यस्तो निर्णय गर्न मन्त्री आले किन तम्सिएका होलान् भन्ने जिज्ञासामा ती अधिकारीले भने, “यसै कारण हो भन्न त सकिँदैन तर अनौपचारिक कुराकानीमा भने बतासले यत्रो गर्दा समेत आफूलाई वास्ता नगरेको भन्ने गुनासो मन्त्रीले गर्ने गरेका छन्। शायद ’डिल’ नमिलेर नै होला !”

पर्यटन मन्त्रीले धर्मशालाको सम्झौता भङ्ग गर्ने निर्णय गरेको सुन्नमा आएको बताउँदै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक प्रतिष्ठित व्यापारीले भने, “सायद सरकारसँग विभिन्न सम्झौता गरेर व्यापार व्यवसाय गरिरहेका सबैलाई तर्साएर चुनाव खर्च उठाउन खोजेका होलान्। तर, यसले समग्र निजी क्षेत्रको नै मनोबल गिराएको छ ।”

यसरी एउटा सरकारले विधि सम्मत ढगले ठेक्का लगाउने, भाडामा दिने अनि अर्को सरकारको कुनै मन्त्रीले लहडको भरमा सम्झौता तोड्ने हो भने निजि–सरकारी सहकार्यमा अब उप्रान्त कुनै पनि परियोजना अघि नबढ्ने समेत उनले बताए ।

उनले प्रश्न गर्दै थपे, “मुद्दा अदालतमा विचाराधीन छ। यस्तोमा सम्झौता तोड्नु हुन्छ ? मानौँ, भोलि बतासलाई ३० औँ करोड क्षतिपूर्ति दिनु भन्ने आदेश आयो भने त्यो कसले तिर्ने ? सरकारले कि मन्त्री आलेले ?’

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह